पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण


२२ असार २०८०, शुक्रबार
Ekraj

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए ।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए । उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकता महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७