राजमार्ग केन्द्रित स्थानीय तहमा जनसंख्या बढ्दो


८ श्रावण २०८०, सोमबार
Bandipur Tanahu

तनहुँ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि छ पालिकाको जनसंख्या ऋणात्मक देखिएको छ । दश पालिकामध्ये चार पालिकाको जनसंख्या बढेको छ भने छ पालिकाको जनसंख्या घटेको छ । बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ ।

राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसंख्या भने बढेको छ । बन्दीपुरको शून्य दशमलव ७४, भानुको शून्य दशमलव ६५, भिमादको शून्य दशमलव ६७, देवघाटको शून्य दशमलव ९७, घिरिङको दुई दशमलव ८६ र ऋषिङको शून्य दशमलव ५२ ले ऋणत्मकमा जनसंख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

आँबुखैरेनीमा शून्य दशमलव ६६, व्यासमा एक दशमलव ११, म्याग्देमा शून्य दशमलव ४५ र शुक्लागण्डकीमा एक दशमलव ३२ ले जनसंख्या बढेको छ । बन्दीपुर गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २० हजार १३ रहेकामा विसं २०७८ को जनगणना अनुसार घटेर १८ हजार पाँच सय ३२ छ । भानु नगरपालिकाको जनसंख्या विसं २०६८ मा ४५ हजार सात सय ९२ रहेकामा विसं २०७८ मा ४२ हजार सात सय ९४ पुगेको छ ।

भिमाद नगरपालिकाको जनसंख्या विसं २०६८ मा ३१ हजार तीन सय ६२ रहेकामा विसं २०७८ मा २९ हजार दुई सय ४८, देवघाट गाउँपालिकाको जनसंख्या विसं २०६८ मा १६ हजार एक सय ३१ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ४८ पुगेको छ । त्यस्तै घिरिङ गाउँपालिकाको जनसंख्या विसं २०६८ मा १९ हजार तीन सय १८ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ८४ र ऋषिङ गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २५ हजार आठ सय ७० रहेकामा विसं २०७८ मा घटेर १७ हजार नौ सय १८ पुगेको छ ।

आँबुखैरेनी गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २० हजार सात सय ६८ रहेकामा विसं २०७८ मा बढेर २२ हजार दुई सय ५२ पुगेको छ । व्यास नगरपालिकाको जनसंख्या विसं २०६८ मा ७० हजार तीन सय ३५ रहेकामा विसं २०७८ मा बढेर ७८ हजार नौ सय ३९ पुगेको छ । म्याग्दे गाउँपालिकाको जनसंख्या विसं २०६८ मा २२ हजार पाँच सय दुई रहेकामा विसं २०७८ मा बढेर २३ हजार पाँच सय ७८ पुगेको छ ।

शुक्लागण्डकी नगरपालिकाको जनसंख्या विसं २०६८ मा ४८ हजार चार सय ५६ रहेकामा विसं २०७८ मा बढेर ५५ हजार छ सय २० पुगेको छ । सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण सहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसंख्या घट्दो क्रममा रहेको तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्याल बताउँछन् ।

‘ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो’, उनले भने । गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले बताउँछन् । उनले भने, ‘स्थानीय तह योजना बनाएर बसाइँसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ ।’ पछिल्लो समय ग्रामीण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७