गायनमा चर्चा बटुल्दै सिम्रन : एक हप्तामै गराइन् १४ गीत रेकर्ड


७ भाद्र २०८०, बिहीबार
Simran pariyar

बागलुङ । गीत–सङ्गीत क्षेत्रमा हालै मात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।
‘गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु’, परियारले भनिन्, ‘विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।’

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउँछिन् । ‘विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नु भएको छ’, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै ३० हजार नगदसहित सम्मान गरेको छ । उनी पहिलो पटक स्टेज शो कार्यक्रम समेत गर्न सफल भएकी छन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन् । उनको  स्वरलाई धेरै श्रोताले  रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् । 

परियारले ‘फूलथुङे रानी...’, ‘नाता टुट्यो पराइ भइगयो...’, ‘तिम्रो नै माया लाग्दछ साइँला...’, ‘फोटो फिरेममा...’, ‘फूलमया...’, ‘तीनपाते...’, ‘आफ्नो आफ्नो दुःख...’, ‘तिमी बिना कसले बुझ्छ र...’ बोलका गीत गाएकी छन् । ‘मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो’, उनले भनिन् । गायक प्रमोद खरेलको गीत आफूलाई औधी मनपर्ने परियारको भनाइ छ । ‘खरेलसँगै गीत गाउने अवसर पाउँदा खुशी लागेको छ’, उनले भनिन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन् । गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७