सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान


१४ भाद्र २०८०, बिहीबार
1684399803 Paragliding From Everest 1200x560 1

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो ।

चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।

‘नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्‍याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ’, उनले भने । नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उनको भनाइ थियो ।

प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलो पटक सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए । ‘मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरेँ’, उनले भने ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन’, उनले भने । सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ थियो ।

त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७