एमाले गण्डकी अधिवेशन : प्रदेश सदस्यमा २७ जना निर्विरोध, बाँकी मतदानबाट चुनिँदै


१८ आश्विन २०८०, बिहीबार
Amale gandaki matadan scaled

गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

मतदान अवधि बिहान ११ः५५ बजेदेखि साँझ ५ः३० बजेसम्मलाई तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । प्रदेश कमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा छन् । शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्ष समेत हुन् ।

यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिएका छन् । प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७