सर्वोच्चको आदेश लगतै रिगल नेपालगञ्जबाट पक्राउ, साढे ११ वर्ष जेल बस्नुपर्ने


१६ कार्तिक २०८०, बिहीबार
rigal

काठमाडौं । सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गरे लगतै योगराज ढकाल ‘रिगल’लाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए । उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो । अब उनलाई दाङकै कारागारमा लगिने कडायतले बताए ।

उनलाई कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै पुनः कारागार पठाउन सर्वोच्चले परमादेशसमेत जारी गरेको छ । यो आदेशसँगै रिगललाई पुनः बाँकी कैद भुक्तानका लागि कारागार पठाइने छ । जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरले जन्मकैदको फैसला सुनाएकाले उनी २० वर्ष जेल बस्नुपर्ने हुन्छ ।

तर, ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी हुँदै संविधान दिवसको अवसरमा उनलाई रिहा गरिएको थियो । त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले अदालतमा रिट हालेकी थिइन् । संविधान दिवसको अबसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगलसहितका कैदीलाई आममाफी दिने निर्णय गरेका थिए ।

आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेपछि भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनको रिटमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजालसले राष्ट्रपतिबाट भएको निर्णय बदर गरिदिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७