नागरिकता विवादले सेनामा ‘सकस’, भावी प्रधानसेनापतिको रोलक्रम नै अन्योलमा


४ मंसिर २०८०, सोमबार
Nepali Army sena 20190129003714

काठमाडौं । रथीमा बढुवा सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डेले नागरिकताको उमेर विवादका कारण नेपाली सेनामा ‘सकस’ मात्र परेको छैन भावी प्रधानसेनापतिको रोलक्रम नै अन्योलमा परेको छ । उपरथी पाण्डेले उमेर विवादमा पदबाट राजीनामा दिएको र उनीपछिका उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने देखिएका कारण भावी प्रधानसेनापति को हुने भन्ने अन्योलको अवस्था सिर्जना भएको छ ।

अबको नौं महिनापछि प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि सकिँदै छ । रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो । जन्म मिति विवाद चर्किएपछि उनले राजीनामा दिएका छन् । उनीपछिको रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने देखिएको सैनिक स्रोतले जानकारी दिएको छ । पाण्डेले राजीनामा दिए पनि स्वीकृत भएको छैन । विशिष्ट श्रेणीका सैन्य अधिकृतको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत हुनुुपर्छ । तर पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ ।

कात्तिक २४ गते पाण्डेले उपरथी पदबाट दिएको राजीनामा पत्र जंगी अड्डाले रक्षा मन्त्रालयमा पठाएको थियो । त्यसयता दुई पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ । पाण्डेको राजीनामा किन स्वीकृत भएको छैन भन्ने आफूलाई थाहा नभएको एक मन्त्री बताउँछन् । जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरेपछि उनको जन्म मिति विवाद बल्झेको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पनि पाण्डेको राजीनामा स्वीकृत भए नभएको विषयमा आफूलाई थाहा नभएको बताए । सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गते अवकाशमा गएपछि रथीको उक्त दरबन्दी रिक्त भएको हो । अर्का रथी सीताराम खड्का पुस ३ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

सेनामा अवकाशको १५ दिनअघि अनिवार्य बिदा बस्ने परम्परा छ । यस आधारमा रथी खड्का मंसिर १८ गतेदेखि बिदामा बस्ने छन् । बढुवाका लागि प्रक्रिया पु¥याउनु पर्ने भएकाले केही समय रथीका दुवै पद रिक्त रहने सैनिक स्रोतले जनाएको छ । पाण्डे जन्म मिति विवादमा तानिएपछि सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जन्म मितिमा कुनै विवाद नभएको र यसअघि नै परीक्षण भइसकेको बताएको थियो ।

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा अशोकराज सिग्देल, पाण्डेलगायत सैनिक अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्म मिति फरक–फरक परेको उजुरी बढुवा सिफारिस समितिमा परेपछि छानबिन गरिएको थियो । त्यसबेला छानबिन समितिमा हालका सेनापति शर्मा पनि थिए । छानबिन समितिले सिग्देल, पाण्डेसहितलाई सफाइ दिएको थियो।पाण्डेको जन्म मिति विवाद बल्झेपछि रथी खड्काको नेतृत्वमा छानबिन भएको थियो ।

छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा कागजात शंकास्पद देखिएपछि कोर्ट मार्सल (सैनिक अदालत) गठन हुने अवस्था सिर्जना भएकाले पाण्डेले हतारमा राजीनामा दिएको बताइएको छ । पाण्डेले राजीनामा दिएपछि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा हुने रोलक्रममा छन् । यी दुवै उपरथीको जन्म मिति र शैक्षिक योग्यतामा पनि विवाद आउन सक्ने भन्दै जंगी अड्डा बढुवा सिफारिस गर्न रोकिएको छ । अब बढुवा सिफारिस गर्नुभन्दा अघि उमेर जनाउने सबै प्रमाणपत्र रुजु गर्ने तयारी सेनाले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७