पैसा फिर्ता नदिएपछि कान्तिभैरव सहकारीका बचतकर्ता धर्नामा


२९ मंसिर २०८०, शुक्रबार
Sahakari pidit kCTyfvVs59

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागे जति बचत फिर्ता गर्न नसकेपछि धर्ना बसेको सहकारी पीडित संघर्ष समितिले जनाएको छ ।

समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको एक अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनको भनाइ छ । समितिले सहकारी विभाग नयाँ बानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण बिना धितो लगानी भएको थाहा पाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । ६ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए ।

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म संघर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । धर्नापछि आजै भएको बैठकमा पनि संघर्ष समितिका नेतामात्र सहभागी भएर अरूलाई नराखिएको उनले सुनाए ।

छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले बताए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए ।

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन् । सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख रुपैयाँ ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका–४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७