नेपाल–भारत संयुक्त आयोगको वैठक आज, भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै


१९ पुष २०८०, बिहीबार

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज (बिहीबार) काठमाडौं आउँदै छन् । संयुक्त आयोगको बैठक बिहीबार नै सुरु हुने छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर बिहीबार बिहान सवा १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

आजबाट हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले उत्पादन गरेको र भारतीय लगानीमा नेपालमा उत्पादन भएको दुवै प्रकारका विद्युत् बिक्री गर्नेबारे सम्झौताको तयारी भइरहेको छ ।

जयशंकरको नेपाल भ्रमणका दौरान दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सो अवसरमा दुई देशका ऊर्जासचिव स्तरमा दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पीपीए) मा प्रारम्भिक सम्झौता भएको थियो ।

विशेष विमानमार्फत जयशंकर बिहान १० बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ । त्रिभुवन विमानस्थलमा नेपालकी परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नेछिन् । सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ । विहान ११ बजे विदेशमन्त्री जयशंकर शीतलनिवास पुग्ने छन् ।

राष्ट्रपतिसँगको भेटवार्ता सकिएपछि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न १२ः०० बजे बालुवाटार जानेछन् । विदेशमन्त्री जयशंकर १ बजे होटल याक एण्ड यतिमा परराष्ट्र मन्त्रीसँग भेटवार्ता हुनेछ । सवा १ बजे त्यहीं आयोजित नेपाल भारत संयुक्त आयोगको सातौँ बैठकमा उनी सहभागी हुनेछन् । दिउँसो १ः४५ बजे माइन्युट–एमओयु र विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

दिउँसो २ बजे उनी याक एण्ड यति होटलमै आयोजित दिवा भोजमा सहभागी हुनेछन् । ३ः४० मा उनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ भने साढे ४ बजे नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता हुनेछ । साँझ सवा ६ बजे परराष्ट्रमन्त्रीले होटल सोल्टीमा आयोजना गरेको रात्रीभोजमा जयशंकर सहभागी हुनेछन् । भोलि बिहान ८ बजे उनी पशुपतिनाथ पुग्नेछन् भने ९ बजे उनले त्रिवि पुस्ताकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घघाटन गर्नेछन् । उनी शुक्रवार नै भारत फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७