‘टीआरसी’ विधेयक सदन बुल्ने वित्तिकै सहमतिबाटै टुंग्याइन्छ : प्रधानमन्त्री

‘कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छ’


७ माघ २०८०, आईतवार
pm prachand

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बताएका छन् । युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्ने बित्तिकै टुंग्याइने बताएका हुन् ।

‘विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’ प्रधानमन्त्री प्रचण्डले चने । उनले सरकारका काम कारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

‘हामी गति लिने कोशिसमा छौँ,’ प्रधानमन्त्रीले भने । उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए । प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको पनि बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस–युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दा वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’

उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे । ‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो । जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्‍यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।
‘कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतामा जोड दिएको छ’
प्रधानमन्त्री प्रचण्डले असंलग्न राष्ट्रहरूको १९औं शिखर सम्मेलनले अन्तिम दस्ताबेज (फाइनल डकुमेण्ट) कम्पाला घोषणा पत्र पारित गरेको बताएका छन् । उनले सम्मेलनले प्यालेस्टाइन सम्बन्धी घोषणा पत्र पारित गरेको पनि बताए । उनले कम्पाला घोषणा पत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरण, बहुपक्षियताको प्रवद्र्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्व व्यवस्था, दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्भाव, ऐक्यवद्धता, दिगो विकासका लक्ष्य हासिल गर्ने जस्ता लक्ष्यहरूमा जोड दिएको बताए ।

उनले दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्व व्यवस्था दुई ध्रुवमा विभाजित रहेको परिस्थितिमा स्वतन्त्रता, स्वाधिनता र आर्थिक विकासको पक्षमा तेस्रो धारका रुपमा विकास भएको असंलग्न आन्दोलनको सान्दर्भिकताबारे केही प्रश्न उत्पन्न भए पनि असमानता, नवउपनिवेशवाद, भूराजनीतिक द्वन्द्व, गरिबी जस्ता समस्यायुक्त वर्तमान विश्वमा असंलग्न आन्दोलनको ठूलो भूमिका रहेको कुरामा विमति हुन नसक्ने बताए ।

प्रधानमन्त्री दाहालले विश्व व्यवस्थालाई न्यायपूर्ण, समतामुलक बनाउँदै सबै देशलाई स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डताको प्रत्याभुति गर्दै विश्वका सबै मानव समुदायले समृद्धि प्राप्त गरी गरिमायुक्त जीवनयापन गर्ने कार्य सम्पन्न गर्न असंलग्न आन्दोलनको महत्व अझै बढेको बताए । उनले भ्रमणका क्रममा युगान्णका राष्ट्रपति, भारतीय विदेशमन्त्री लगायतका उच्च पदस्थ व्यक्तिहरूसँग भेट भएको पनि बताए । उनले नेपालले सार्वभौम समानता, आपसी सद्भाव, आपसी लाभ र द्वन्द्वको शान्तिपूर्ण समाधानको आधारभूत सन्तुलित र स्वतन्त्र परराष्ट्रनीति अवलम्वन गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७