भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम


१० माघ २०८०, बुधबार
airport
फाइल फोटो

काठमाडौँ । भिजिट तथा पर्यटक भिसामा विदेश जानेहरुका लागि आज (बुधबार) देखि नयाँ नियम लागू भएको छ । अध्यागमन विभागका अनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ । सम्बन्धित देशको भिसा वा अनअराइभल भिसा प्राप्त हुने देश भए प्रवेशाज्ञा चाहिने र भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनु पर्ने विभागले जनाएको छ ।

विभागका अनुसार खाडी देशभन्दा बाहिर कम्तीमा एक पटक र खाडी देशमा दुई पटक विदेश यात्राको अभिलेख भएका, न्यूनतम २ वर्षभन्दा बढी समय विदेशी देशमा बसेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरूले भिजिट भिसामार्फत यात्रा गर्न पाउने छन् । त्यस्तै न्यूनतम माध्यमिक तहको औपचारिक शिक्षा वा त्यो सरहको प्राविधिक र व्यावसायिक सीप दक्षता भइ आधिकारिक निकायबाट प्रमाणीकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता विज्ञ, प्राविधिक, व्यक्तिहरू, अंग्रेजी वा गन्तव्य देशमा बोलिने अन्तर्राष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति पनि जान पाउने छन् ।

आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा–बाबु, सासु–ससुरा, छोराछोरी, श्रीमान–श्रीमती र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेत), गन्तव्य देशमा रहेको राजदूतावास र नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू, सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरूलगायत पनि भिजिट भिसामा जान पाउने छन् ।

वार्षिक न्यूनतम ५ लाख रुपैयाँ करयोग्य आय भइ कम्तीमा त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू, नेपाली दूतावासको सिफारिस बमोजिम बिरामी कुरुवा वा रेखदेखको काम गर्न जाने तीन पुस्ताभित्रका पारिवारिक सदस्यहरू पनि भिजिट भिसा जान पाउनेछन् ।

भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि विभागले नयाँ मापदण्ड लागू गरेको हो । नयाँ नियम भिजिट भिसा र यसबाट सृजित समस्या तथा समाधानका उपायहरू सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न छुट्टै कार्यविधि तयार भइ नआउन्जेलसम्म लागूू हुने पनि अध्यागमन विभागले जनाएको छ ।
भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरूबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने समेत सरकारले चेतावनी दिएको छ ।

बिचौलियाहरूले महिलाहरूलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने गरेको भन्दै विभागले सचेत रहन आग्रह गरेको छ । रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जान चाहेको खण्डमा भिजिट वा पर्यटक भिसा नभई श्रम स्वीकृति लिएर मात्र जान पनि विभागले अनुरोध गरेको छ ।

travel consultation

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७