स्वर्गीय गायक–संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि


१५ फाल्गुन २०८०, मंगलवार
Bhaktaraj aacharya 2 scaled

काठमाडौं । गायक तथा संगीतकार स्व. भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिएको हो । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली अर्पण अहिले पनि जारी छ ।

Bhaktaraj aacharya 1

ख्याती प्राप्त गायक तथा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू प्रज्ञा प्रतिष्ठान पुगेका छन् । त्यस्तै गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । साथै केही समयपछि श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहने जानकारी जनाइएको छ । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–संगीत क्षेत्रको एउटा धरोहर ढलेको र उनको अभाव सधैँ खड्कीरहने बताइन् ।

८२ वर्षको उमेरमा सोमबार आचार्यको निधन भएको थियो । उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउने छन् ।

आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज दिएका छन् । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्वपूर्ण योगदान छ । गायक आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनको परिवारले जनाएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७