पोखराको विन्दवासिनी सहकारीमा सात करोड घोटाला, अध्यक्षसहित तीन जना पक्राउ


२२ फाल्गुन २०८०, मंगलवार
subarna man nakarmi

पोखरा । पोखराको अर्को सहकारी संस्थाको घोटाला काण्ड बाहिरिएको छ । पोखरा नयाँबजारस्थित विन्दवासिनी बचत तथा ऋण सहकारीमा करिब सात करोड रुपैयाँ घोटाला भएको खुलेको हो ।

यस घोटालाको आरोपमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मीसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सहकारी रजिष्टार कार्यालयको पत्रानुसार उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिएका छन् । पक्राउ पर्नेमा अध्यक्ष नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । पक्राउ परेकाबिरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर मानन्धरले जानकारी दिए ।

यस काण्डमा जोडिएका सहकारीका सचिव एवं स्टेशनरी व्यवसायी गंगाधर सुवेदी फरार छन् । यस काण्डमा जोडिएका अन्यबिरुद्ध पक्राउ पूर्जी जारी गर्ने तयारीमा रहेको कास्की प्रहरीले जनाएको छ । बचतकर्ताले सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएपछि सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड हिनामिना गरेको पुष्टि भएको छ ।

सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर अरुको कीर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको औँल्याएको छ । सहकारीको नाममा रहेको ३ रोपनी जग्गा कीर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७