कोशीमा कांग्रेसको सरकार ढल्दैन, मेरो विकल्प छैन : मुख्यमन्त्री कार्की

‘अर्को विकल्प सोच्नु भनेको कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नु हो’


१ चैत्र २०८०, बिहीबार
kedar karki 1

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र संविधानविदसँगको छलफलपछि मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार नढल्ने र आफ्नो विकल्प नभएको दावी गरेका छन् ।

काठमाडौं पुगेर मुख्यमन्त्री कार्कीले बिहीबार कांग्रेस सभापति देउवालगायत नेताहरूसँग भेट गरेका हुन् । पछिल्लो राजनीतिक समीकरण र कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका विषयमा छलफल भएको थियो । देउवा निवासमा भएको छलफलमा कोशीमा कार्कीको विकल्प नभएको निचोड निकालिएको छ ।

मुख्यमन्त्री कार्कीले भन्छन्, ‘कोशी प्रदेशको अवस्था के कस्तो छ भन्ने विषयमा छलफल भयो, मेरै नेतृत्वमा कोशी प्रदेश सरकार निरन्तर चल्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।’ सरकार गठन प्रक्रियाका सम्पूर्ण धाराहरू प्रयोग भएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो नेतृत्वमा बनेको कोशी प्रदेश सरकारको विकल्प नभएको उनको भनाइ थियो । नयाँ सरकार गठनको सम्भावना नरहेको मुख्यमन्त्री कार्कीको दावी छ ।

‘बैठकले कोशीमा नयाँ सरकार गठनको सम्भावना नभएको निष्कर्ष निकालेको बताउँदै कार्कीले भने, ‘अर्को विकल्प सोच्नु भनेको कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा धकेल्नु हो ।’ यस विषयमा संविधानविद्सँग पनि छलफल गरेको कार्कीले जानकारी दिए । ‘कोशीमा अहिले अर्को सरकारको विकल्प नै छैन, संविधानविदपिच्छे फरक कुरा हुन सक्छन् तर ढुक्क हुनुपर्ने कुरा कोशीमा नयाँ सरकार गठनको सम्भावना छैन, सभापतिसँग पनि यही विषयमा छलफल भयो ।’

केन्द्रमा कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धन भत्किएपछि कोशी प्रदेश सरकारमा पनि यसले असर पारेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुँदा आफ्नै पार्टीका आठ सांसद लिएर तत्कालीन गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसयता संस्थापन पक्षसँग कार्कीको सम्बन्ध चिसिएको कोशीका कांग्रेस सांसदहरूले बताउँदै आएका छन् । यही सन्दर्भलाई लिएर मुख्यमन्त्री कार्कीले देउवा लगायत कांग्रेस पदाधिकारीसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७