एमालेलाई नटेर्नेहरु सिद्धिन्छन् : अध्यक्ष ओली

‘अहिलेको गठबन्धनलाई टिकाएर लैजान्छौं’


१ चैत्र २०८०, बिहीबार
oli

कञ्चनपुर । सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताएका छन् । ‘यो समीकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ बिहीबार महेन्द्रनगरमा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले भने, ‘यसलाई टिकाएर लैजाने हो ।’

उनले अहिलेको गठबन्धन भवितब्यमा नभई धेरै हिसाब किताब र छलफल गरेर बनेको दाबी गरेका छन् । अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको दावी गरे । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौं, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस्,’ उनले भने, ‘देश बनाउने संकल्पसहित अहिलेको सरकार बनेको हो ।’

उनले पुरानो गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको बताए । त्यही पीरले कांग्रेस छटपटाइरहेको उनले बताए । पुरानो गठबन्धन खरानीको डल्लो जस्तै भएकाले फुटेको उनले बताए । उनले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरे । उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे । ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने । एमालेलाई हेप्नेहरूले गम्भीर धोका खाने समेत ओलीले बताए ।

कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पारे। ‘कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उस्ले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो।नयाँ समीकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती साहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए । अध्यक्ष ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सुझाउँदै त्यसो हुन नसके स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७