पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा

प्रधानमन्त्रीले भने–विकासका लागि आवश्यक सहयोग हुन्छ


४ चैत्र २०८०, आईतवार
pokhara scaled

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज (आइतबार) आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।’ उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र
पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो ।

पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ ।मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्काे सङ्कटको सामना गर्नुपरेको उल्लेख छ । अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी सङ्कटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ ।

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहित प्याकेज दिई प्रोत्साहनको माग गरिएको छ । गत वर्ष नवौँ राष्ट्रिय प्रतियोगिताका क्रममा दुर्घटना भई एक खेलाडीको मृत्यु भएपपछि नेपाल नागरिक उड्डयन प्रधिकरणले प्याराग्लाइडिङको एकल उडान बन्द गरेको थियो । उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न नपाउँदा खेलाडीको मनोविज्ञानमा असर परेकोे परिषद्ले मागपत्रमा जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७