नाउपाको ‘दोहोरो’ नीति : केन्द्रमा प्रचण्डलाई समर्थन, सुदूरपश्चिममा कांग्रेस सरकारलाई साथ


४ चैत्र २०८०, आईतवार
Naupa

कैलाली । सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकार जोगिने कि ढल्ने अन्योलता बढिरहेका बेला नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन गर्ने निर्णय गरेको छ । आज (आइतबार) पार्टी संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले संघमा नव गठित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि प्रदेशमा भने स्वायत्त अभ्यास गर्ने जानकारी दिएका छन् । दलको बैठकमा पार्टीका सात सांसदमध्ये पाँच जनाको उपस्थिति थियो । सांसद कैलाश चौधरी र टीका थापा बैठकमा अनुपस्थित थिए । सांसद कैलाश चौधरीले विश्वासको मत नदिने बताउँदै आए पनि दलका नेता चौधरीले उनलाई पनि मन्त्री बनाएर सहमतिमा ल्याउने र दलको निर्णय बाहिर कुनै पनि सांसद नजाने बताए । हाल नागरिक उन्मुक्तिका सात सांसदमध्ये पाँच जना मन्त्री भइसकेका छन् ।

कमलबहादुर शाह नेतृत्वको कांग्रेस सरकारले विश्वासको मत प्राप्त गर्न नागरिक उन्मुक्तिले समर्थन गर्दा पनि राप्रपा र स्वतन्त्र सांसदले समर्थन गर्नुपर्ने हुन्छ । नागरिक उन्मुक्तिले समर्थन गरे आफूहरू पनि समर्थन गर्ने उनीहरूले बताउँदै आएका छन् । कांग्रेसका १८, नागरिकका सात, एक राप्रपा र एक स्वतन्त्र गरी २७ जना पुग्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन जुटाउनु पर्नेछ । सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने यसअघि नै पार्टीको सल्लाह विना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिएकी थिइन् । केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनलाई सघाउने निर्णय गरेपछि पार्टीभित्र दोहोरो नीति देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७