तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’


१० चैत्र २०८०, शनिबार
banira.jpg

काठमाडौं । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्‍याए बापत प्रा. पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ ।

त्यस्तै नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निरन्य भएको छ । यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ दिने निर्णय भएको फाउन्डेसनका सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको ८१ औँ जयन्तीका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंको मीनभवनस्थित वानीरा फाउन्डेसनको सभाकक्षमा यी पुरस्कारहरु वितरण गरिने सचिव प्रसाईले जानकारी गराएका छन् । वानीरा फाउन्डेसनका संस्थापक, संरक्षक तथा दाता ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७