गृहमन्त्रीलाई सांसद पन्तको प्रश्न : दुर्गा प्रसाईले अत्याधुनिक हतियार बोकेर हिंड्नु उचित हुन्छ ?


१४ चैत्र २०८०, बुधबार
rab

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईका अङ्गरक्षकलाई अत्याधुनिक हतियार राख्न दिइएको विषयमा संसदीय समितिमा प्रश्न उठाएका छन् । प्रसाईका अङ्गरक्षकबाट प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ गरेको थियो ।

आज (बुधबार)संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पन्तले उक्त प्रश्न उठाएका हुन् । समितिको आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ । ‘दुर्गा प्रसाईका अङ्गरक्षकबाट हतियार बरामद भयो । त्यस्तो हतियार राख्न कसरी दिइयो,’ पन्तले प्रश्न गरे ।

प्रसाईले राखेको हतियार देख्दा हतियार राख्न दिने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने पन्तको भनाइ छ । ‘संसारका विभिन्न मुलुकमा ठूला हत्याकाण्ड भएको अवस्थालाई विचार गर्नुपर्छ । त्यस्ता हतियार कतिलाई दिइएको छ ? दुर्गा प्रसाईंलाई दिएको हतियार हेर्दा हतियार दिने व्यवस्थामा पुनर्विचार गर्न आवश्यक छ,’ उनले भने ।

गुप्तचर निकाय गृह मन्त्रालयमातहत नभएकाले गृहमन्त्रीले सुरक्षासम्बन्धी सबै प्रश्नको जवाफ दिन नसक्ने अवस्था आउन सक्ने उनको भनाइ छ । ‘अहिले गुप्तचर निकाय गृहमन्त्री मातहत छैन, गृहमन्त्रीले भोलि घटना भयो भने मेरो मातहत गुप्तचर निकाय छैन भन्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राखिएको छ ।’

तराईमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘तराईका जिल्लाहरूमा पारिबाट अपराधीहरू आएर घटना घटाउने गरेका छन् । त्यहाँका जनताको सुरक्षामा ध्यान दिन आवश्यम छ,’ उनले भने, ‘हाम्रो सिमानामा राखिएका सुरक्षा पोष्टको अवस्था के छ त्यसको अवस्था हेरेर बलियो बनाउँन आवश्यक छ ।’ सीमा सुरक्षाबारे पन्तले भने, ‘दशगजामा भारतले सुरक्षा पोष्ट बनाउने गरेको छ, सीमा सुरक्षाको अवस्था कस्तो छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७