प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक


१५ चैत्र २०८०, बिहीबार
prachanda 18

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो । बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको हो । गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा भ्रमणमा गएकोले बैठक एक हप्ताका लागि सारिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरण फेरिएसँगै शक्ति संरचना पनि फेरिएको छ । परिषद्को नयाँ संरचनामा कांग्रेसले प्रवेश पाएको छ भने एमाले पृष्ठभूमिका पदाधिकारीको संख्या घटेको छ । यसअघि सत्तापक्षमा हुँदा पनि कांग्रेसको प्रतिनिधित्व संवैधानिक परिषद्मा थिएन । विपक्षी दलका नेताका रूपमा अब संवैधानिक परिषद्मा कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित हुनेछन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पल्ट संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७