बीपीको शालिकमा माल्यार्पण गर्दै गगन थापाले फेरि सुरु गरे संवाद यात्रा


१५ चैत्र २०८०, बिहीबार
gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोकिएको ‘संवाद यात्रा’ फेरि सुरु गरेका छन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको संवाद यात्रा रोकिएको ठाउँबाट सुरु गरिएको हो । नवलपरासीको गोपीगञ्जमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै सुरु भएको हो ।

गत १३ माघमा थापाले यात्रा सुरु गरेका थिए । २३ माघबाट यात्रा रोकिएको थियो । यो हुलाकी राजमार्ग केन्द्रित यात्रा हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा बिहीबार, शुक्रबार र शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगन्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ । त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नुहुने यात्रामा सँगै रहेका नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७