भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्–चुनाव लड्ने पैसा छैन


१५ चैत्र २०८०, बिहीबार
Nirmala Sitaraman.jpg

काठमाडौँ । भारतको केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग नलिने निर्णय गरेको बताइन् । निर्मला सीतारमणले आफूसँग चुनाव लड्न पैसाको अभाव भएको र आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यहरूमा विजयको मापदण्ड पूरा गर्न नसक्ने बताइन् ।

निर्मला सीतारमणले आन्ध्र प्रदेश वा तमिलनाडुबाट चुनाव लड्ने अनुमान गरिएको थियो । हाल उनी राज्यसभा सांसद छन् र उनको २०२८ सम्म कार्यकाल रहेको छ । निर्मला सीतारमण नरेन्द्र मोदीको दुवै कार्यकालमा मन्त्री भइन् र दुवै पटक राज्यसभा हुँदै संसदमा पुगेकी थिइन् ।

यस पटक भाजपाले राज्यसभा हुँदै संसदमा पुगेका आफ्ना मन्त्रीहरूसँग लोकसभा चुनाव लडाइरहेको छ । चुनाव लड्ने विषयमा सीतारमणले भनेकी थिइन्,‘मसँग चुनाव लड्ने पैसा छैन । मलाई अर्को समस्या छ । म आन्ध्र प्रदेश वा तमिलनाडुमा चुनाव जित्ने मापदण्ड पूरा गर्दिन । विशेष समुदाय, विशेष धर्मको समीकरण पनि छ । यस्तो अवस्थामा, मैले यी मापदण्डहरूमा फिट नहुने हुनाले लडदिन भनेँ । मेरो तर्कलाई पार्टीले स्वीकार गरेकोमा म आभारी छु ।’

निर्मला सीतारमणसँग दुई महत्वपूर्ण मन्त्रालयहरू छन्–वित्त र कर्पोरेट मामिला । निर्मला सीतारमण देशको पहिलो पूर्णकालिक महिला अर्थमन्त्री हुन् । यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा केही समय अर्थ मन्त्रालय पनि थियो । मोदीको पहिलो कार्यकालमा निर्मला सीतारमण रक्षामन्त्री थिइन् । सक्रिय राजनीतिमा आउनुअघि निर्मला सीतारमण जेएनयूमा पढेर कर्पोरेट क्षेत्रमा काम गरिरहेकी थिइन् । त्यसपछि उनी श्रीमानसँग लण्डन पुगिन् र त्यहाँ बीबीसीमा आबद्ध भइन् । निर्मला सीतारमण सन् १९९० को दशकमा भारत फर्किएर अध्यापनको क्षेत्रमा लागिन् । पछि उनले हैदरावादमा प्रणव स्कूल स्थापना गरिन् ।

निर्मला सीतारमण सन् २००८ मा भाजपामा प्रवेश गरेकी थिइन्, जब उनलाई राष्ट्रिय कार्यकारिणीमा बोलाइयो र उनले भाषण दिएकी थिइन् । उनको भाषणको विषय सुरक्षा र आर्थिक विषयमा थियो । त्यसपछि वरिष्ठ नेताहरूको ध्यान उनीतिर गएको थियो । निर्मला सीतारमण अटल बिहारी वाजपेयीको सरकारमा राष्ट्रिय महिला आयोगमा मनोनीत भएकी थिइन् । सन् २००९ मा उनलाई भाजपाको राष्ट्रिय प्रवक्ता बनाइएको थियो । निर्मला सीतारमणलाई २०१४ मा बीजेपीले राज्यसभा सांसद बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७