बागमतीमा हाम्रो नेपाली पार्टीले छाड्यो मुख्यमन्त्रीको ‘बार्गेनिङ’, बज्राचार्य मन्त्री बन्दै


१५ चैत्र २०८०, बिहीबार
hanepa

काठमाडौं । दुई दिनअघि बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी मुख्यमन्त्रीको ‘बार्गेनिङ’ छाडेर प्रदेश सरकारमा सहभागी हुने भएको छ । हानेपा सरकारमा सहभागी हुने भएपछि आजै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हानेपा संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यलाई आजै शपथ गराएर सरकारमा सहभागी गराउने तयारी रहेको जानकारी दिएका छन् । बज्राचार्यलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुंगो नभए पनि संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ । यसअघि मंगलबार मात्रै हानेपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समर्थन फिर्ता लिएर प्रदेश सरकारको नेतृत्व दाबी गरेको हानेपा सरकारमा सहभागी हुने भएको हो । मुख्यमन्त्री जम्कट्टेलले हानेपासँग राजनीतिक रूपमै सहमति गरेर सरकारमा सहभागी गराउन खोजिएको बताए । ‘उहाँहरूसँग छलफल भएरै हामीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हौं । हानेपासँग राजनीतिक रूपमा हुने सहमतिपत्रमा हस्ताक्षर गरेर नै तत्काल संसदीय दलका नेता बज्राचार्यलाई मन्त्री नियुक्त गर्न लागेका हौँ,’ मुख्यमन्त्री जम्कट्टेलले भने ।

११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनका रहेका दलहरूले बहुमत पु¥याउन नसक्दा साना दलहरूसँग नियमित छलफलमा थिए । अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन् । हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७