पाल्पामा पधेंरो हिंडेकी युवतीको हँसिया प्रहार गरी हत्या : गाउँकै युवक पक्राउ

आरोपीकै घरमा भेटियो मृत्तक युवतीको मोवाइल


१६ चैत्र २०८०, शुक्रबार
palpa hatya

पाल्पा । पाल्पामा पधेंरो हिंडेकी युवती पदमा सुनारको बीभत्स हत्या आरोपमा पक्राउ परेका सागर भन्ने देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ युवती पदमा सुनारको वीभत्स हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हंँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट पुगेको टोलीले घटनाको थप अनुसन्धान गरेको एसपी नरेन्द्र चन्दले जानकारी गराए ।

घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यसपछि मृतक पदमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा सागर भन्ने देवलालले हत्या स्वीकार गरेको डीएसपी श्रेष्ठले बताएका छन् ।

धोइसकेका लुगा लिएर लप्सी खोलाबाट फर्किने क्रममा दुई सय मिटर पश्चिम खुलखुले गैरामा पदमालाई पछाडिबाट आफ्नो साथमा रहेको हँसियाले हानेको देवलालले प्रहरीमा स्वीकार गरेका हुन् । मृतकको बायाँ पाखुरा, टाउको, पछाडि कञ्चटमा चोट लागेको पोस्टमार्टम रिपोर्टमा भेटिएको प्रहरीले जनाएको छ । डिएसपी श्रेष्ठका अनुसार सागर रिसाहा स्वभावका छन् । उनीहरूबीच सामान्य विवाद भएको थियो । ‘उनीहरूबीच के विषयमा विवाद भएको हो भन्ने अझै प्रष्ट हुन बाँकी छ । तर दुई जनाको भेट हुँदा विवाद हुन पुग्यो । गालीगलौजको अवस्था सिर्जना भएपछि हत्या भएको देखिन्छ,’ उनले भने ।

आवेगमा आएर सागरले पद्मामाथि हँसियाले प्रहार गरेको उनले बताए । हतियार प्रहारपछि उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पुर्‍याएका थिए । त्यहाँ पनि उनको टाउकोमा दुई÷तीन पटक प्रहार गरेका थिए । मृतक पदमाको हिँड्ने बाटोदेखि २० मिटर तल शव भेटिएको थियो । मृतकको साथबाट मोबाइल समेत निज देवलालले लिएर हिँडेका थिए । सामान्य विवादमा देवलाले पदमाको हत्या गरेको स्वीकार गरेका छन् । मंगलबार बिहान ९ बजे पदमा लप्सीखोलामा कपडा धुन र नुहाउन भनेर हिँडेकी थिइन् । लप्सीखोला उनको घरबाट दुई किलोमिटर टाढा पर्छ ।

नुहाउन र कपडा धुन भनेर एक्लै हिँडेकी उनी दिउँसो साढे ३ बजेसम्म पनि नफर्किएपछि घर परिवार उनको खोजीमा निस्किए । खोज्दै जाँदा पदमाले लिएर गएको कपडा तथा अन्य सामान लप्सीखोलाबाट कराम्दी जाने गोरेटोमा लथालिङ्ग अवस्थामा फेला पर्‍यो । सामान फेला परेको आसपास परिवारले खोजी गर्दा अन्दाजी २० मिटर तल खरबारीमा पदमा रगताम्य अवस्थामा मृत फेला परिन् । उनको टाउको, घाँटी, हातमा धारिलो हतियारबाट प्रहार गरिएका चोटहरू थिए । त्यसपछि परिवारले साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरेको थियो । उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७