नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : राम माधव


१६ चैत्र २०८०, शुक्रबार
c9e79d4c 10cc 4eea 8b26 c547644fbffc.jpeg

काठमाडौं । इण्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन् । नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने बताएका हुन् ।

‘यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन् । यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षड्यन्त्र भन्ने गरिन्छ । म तपाईंलाई आश्वस्त पार्छु, यसमा कुनै षडयन्त्र छैन,’ उनले भने । नेपाल र भारत दुवै लोकतान्त्रिक मुलुक भएकाले भारतले नेपालको लोकतन्त्र समृद्ध र सफल होस् चाहने उनले बताए । आफूहरूको नेपालको लोकतन्त्र समृद्ध होस् भन्ने चाहना भए पनि यसलाई समृद्ध पार्ने जिम्मा भने नेपालीहरूको नै भएको उनको भनाइ छ ।

‘नेपालको लोकतन्त्रलाई समृद्ध पार्ने कुरामा कसैले षड्यन्त्र गर्दैन । यसमा कसैको हस्तक्षेप पनि रहँदैन । भारत नेपालको समृद्ध लोकतन्त्रका लागि सधैँ सहयोगी नै रहन्छ,’ उनले भने । नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्ने कुरा यहाँकै नागरिकले तय गर्नुपर्ने उनले बताए । नेपाल र भारतबीच साझा संस्कृति र साझा विरासत रहेको उनको भनाइ छ । साझा संस्कृति र विरासत राजनीतिक विषय नभएको उनले प्रस्ट पारे । ‘यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

यूरोपका २७ देश मिलेर त्यहाँका कयौं मुद्दामा सामूहिक तवरले छलफल गरेर समाधान गर्ने गरेको स्मरण गर्दै उनले नेपाल र भारत मिलेर भाषा, संस्कृति र सभ्यताको पुनर्उत्थानका लागि काम गर्नुपर्ने बताए। उनी राष्ट्रिय स्वयंसेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डल सदस्य र भारतीय जनता पार्टीका पूर्व महासचिव पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७