मकै खेती गर्ने किसानलाई कृषियन्त्र वितरण


२६ चैत्र २०८०, सोमबार
makai siraha

कैलाली । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।

किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकै खेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए ।

‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो’, उनले भने, ‘सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।’ कालिकापुरमा एक सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए । ‘समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७