पूर्व राजदम्पतीबीच खटपट, पारस–हिमानी मुख्य कारण

काठमाडौं, १९ असार । पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाहका कारण पूर्व राजा ज्ञानेन्द्र दम्पतीबीच खटपट शुरु भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहबीच पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानीमध्ये कसलाई निर्मल निवासको उत्तराधिकारी बनाउने भन्ने विषयमा खटपट भइरहेको समाचार स्रोतले जानकारी दिएको छ ।
दरबारले आगामी दिनमा राजनीतिमा पनि पाइला चाल्ने संकेतसहित हिमानीलाई अगाडि बढाउने थालेको स्रोतको दावी छ । करीब–करीब राजतन्त्र फर्किन मुस्किल रहेको देखेपछि हिन्दु राज्यको एजेण्डालाई स्थापित गराउनका लागि राजनीतिमा दरबारबाट उत्तराधिकारीको खोजी भइरहेको दरवार निकटहरु बताउँछन् ।
यही खोजीका लागि नै दरबारमा पारस र हिमानीका विषयमा बहस शुरु भएको जनाइएको छ । पारस अहिले विभिन्न शक्तिपिठ धाइरहेका छन्, त्यसअघि नै हिमानीले शक्तिपिठदेखि सामाजसेवामा पनि आफूलाई स्थापित गराईसकेकी छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारको राजनीति, कुटनीति र सम्बन्धको साँचो बुहारी हिमानीलाई जिम्मा लगाएर यसै साता बाहिर जाने तयारी पनि गरेका छन् ।
निर्मलनिवास स्रोतका अनुसार अप्ठेरो अवस्थामा पनि हिमानीले दरबारको साख जोगाउनका लागि सामाजिक काममा सक्रियता देखाएका कारणले पूर्व राजा ज्ञानेन्द्रले हिमानीलाई दाहिने हात मान्ने गरेका छन् । तर, थाइल्याण्डबाट फर्किएपछि छोराको आनीबानीमा सुधारको संकेत देखिएको भन्दै पूर्व रानी कोमल शाह भने पारसलाई जिम्मेवारी सम्हाल्ने मौका दिइनु पर्ने पक्षमा रहेको स्रोतले जानकारी दिएको छ ।