कृषि कर्मबाटै दसौं लाख आम्दानी

काठमाडाैं, २१ असार । केही हजार आम्दानीका लागि झन्डै १५ सय नेपाली युवाले दिनहुँ देश छाडिरहेका छन् । तर, त्यस्तै युवाले यहीं कृषि कर्म गरेर महिनामै लाखौं आम्दानी गरिरहेका छन्। अाजकाे नागरिक दैनिकमा समाचार छ ।
पालुङटार नगरपालिका–७ गोरखाका राजेन्द्ररजा पन्त, भरतपुर महानगरपालिका–२३ चितवनका योगेन्द्रबहादुर खड्का, खजुरा गाउँपालिका २ बाँकेका लालबहादुर सुनार, ननुपट्टी गाउँपालिका–५ धनुषाका बौएलाल मुखिया र टीकापुर नगरपालिका १ कैलालीका रामबहादुर कुँवरले मुलुककै उत्कृष्ट किसानको पहिचान बनाएका छन् । उनीहरुलाई सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरेको छ । उत्कृष्ट किसानलाई बुधबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सम्मान गरे । पन्तलाई दुई लाख रुपैयाँ र अन्य चारजनालाई जनही एक लाख रुपैयाँले पुरस्कृत गरिएको हो।
वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले कृषिका काम गर्न लाज मान्नेमात्र होइन, केही आम्दानी हुँदैन भन्ने धारणा बनाइरहेका बेला मुलुकभित्रै कृषि कर्मबाटै मासिक दुई लाख रुपैयाँसम्म मुनाफा गर्न सकिन्छ भन्ने यी उत्कृष्ट किसानले प्रमाणित गरेका छन् । हेला गरिने कृषि पेसा पछिल्लो सयम मनग्य आम्दानी हुने सम्मानित पेसाको रुपमा रुपान्तरित हुँदैछ ।