डा. केसीको समर्थनमा उत्रिए देशभरका स्वास्थ्यकर्मी, केसीको अनसन ११ औ दिन पनि जारी


२७ असार २०७५, बुधबार
kc

काठमाडौं, २७ असार । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । kc

अनसनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्‍यालीलगायतका विरोध कार्यक्रम गरेका छन् ।

अर्को निर्णय नभएसम्म प्रत्येक दिन दैनिक कार्य शुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिएका छन् । चिकित्सक संघको कार्यकारिणी समितिका पदाधिकारी, चिकित्सक संघका पूर्व अध्यक्ष, महासचिव, काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्षका साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकसँग छलफल गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले विरोध कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्न बाध्य हुने बताएका छन् । चिकित्सकले गर्ने विरोध कार्यक्रमबाट उत्पन्न हुने परिणामप्रति सरकार जिम्मेवार हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संघका देशभरका शाखा कार्यालयले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग समन्वय गरी आन्दोलन गर्ने जनाइएको छ । आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जाहेर गरी डा. केसीको जीवनरक्षा गर्नका लागि विभिन्न संघ, संस्था, शुभेच्छुक, सञ्चारकर्मी, बुद्धिजीवी, सर्वसाधारण नागरिक एवं स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायमा संघले अपिल गरेको छ ।

डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरिरहेकाले चिकित्सक आन्दोलन गर्न बाध्य भएको संघका महासचिव डा. लोचन कार्की बताउँछन् । उनी भन्छन्, ‘वार्ता टोली गठन गरेर समस्या समाधानका लागि सरकारले पहल गर्न सक्थ्यो तर यसमा समेत बेवास्ता गरेको छ ।’ यसअघि संघले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको थियो । संघका आजीवन सदस्य समेत रहेका डा. केसीको जीवन रक्षार्थ आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव डा. कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७