१९५ बघा बगरमा मौसमी तरकारीको हरियाली


२३ फाल्गुन २०७५, बिहीबार
bagar

झापा, २३ फागुन । झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो ।

bagar

शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुरु गरेको बगरमा यतिबेला, काँक्रा, घिरौँला, फर्सी, लौका र करेला लटरम्मै फल्न थालेको खेतीका प्राविधिक जनार्दन मण्डलले जानकारी दिए ।

८० किसान मिलेर प्रतिबिघा १२ हजारका दरले भाडामा लिएको बगरे जमीनमा फलेको तरकारी खरीदका लागि ट्रक नै लिएर हेटौँडा, लहान, काठमाडौँदेखि व्यापारी आउन शुरु गरेको प्राविधिक मण्डलले बताए । उनहरूले खेती गर्दै आएको बगर स्थानीय किसानको नम्बरी जग्गा हो ।

विगतमा माईखोलामा आएको बाढीले खेतीयोग्य जमीन बगाएर बगरमा परिणत गरेको थियो । सोही जमीन जग्गाधनीसँग भाडामा लिएर किसानले विगत पाँच वर्षदेखि बगरे तरकारी खेती शुरु गरेका हुन् ।

छोटो समयमा विभिन्न तरकारीका जातहरू लगाएर उत्पादन गर्न सकिने भएकाले किसान सो खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र भद्रपुरका कृषि प्राविधिक शालिकराम भट्टराईले बताए । उनका अनुसार झापाको मेची, कनकाई, बिरिङको तल्लो भाग, गौरीगञ्जको चिस्यानलगायतका खोलाको बगरमा तरकारी तथा फलफूल खेती लगाइएको छ ।

हिउँदको सुक्खा याममा नदीबाट मोटर चलाएर सिँचाइ गर्न सकिने सहज व्यवस्था, बाढीले बगाएर ल्याएको मलिलो बलौटेमाटो भएकाले खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भाण्टा, गोलभेँडालगायतका विभिन्न किसिमका फलफूल तथा तरकारी बगरमा मनग्य उत्पादन हुने गरेको प्राविधिक भट्टराईको भनाइ छ ।

उनले बगरखेती कार्यक्रमअन्तर्गत जिल्लाका कृषक समूह, कृषि सहकारी, कृषिफार्मसहित २० वटा छनोट गरी चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले रु २८ लाख ५० हजार रकम किसानलाई अनुदान दिएको बताए । उनले भने, ‘खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने सम्भावनालाई देखेर बगरे खेती विकास तथा प्रवर्धनको अवधारणाअनुसार कार्यक्रम शुरु गरिएको हो ।’ झापाका विभिन्न खोलाकिनारको ५०० बिघाभन्दा बढी जमीनमा बगर खेती भइरहेको कृषि ज्ञान केन्द्रको कार्यालय भद्रपुरले जनाएको छ ।

बगरमा बेमौसमी तरकारी र खरबुजाको खेतीबाट बालबच्चाको पढाइ लेखाइ र घर खर्च चलाउन सजिलो भइरहेको कनकाई नगरपालिका–५ का किसान तपन मण्डलले बताउँछन् । उनले मंसिरदेखि शुरु गरिने तरकारी जेठ १५ सम्ममा बिक्री भइसक्ने बताए ।

उनका अनुसार काँक्रा, फर्सी, करेलालगायतका तरकारी चैत १५ सम्ममा बिक्री गरिने र खरबुजाको बिक्रीचाहिँ वैशाखदेखि जेठ १५ सम्ममा गरिने बताए । मण्डलले दुई बिघामा खर्च कटाएर बेमौसमी तरकारी खेतीबाट रु छ देखि सात लाख आम्दानी हुँदै आएको बताएका छन् ।

किसानले हालसम्म भारतको किसानगञ्जबाट प्रतिकेजी रु २० हजारका दरले बीउबिजन खरीद गरेर तरकारी खेती गर्दै आएको बताएका छन् । उनीहरू सरकारले बगरे तरकारी खेती गर्ने किसानलाई बीउ र तालीमको व्यवस्था गरे अभैm तरकारी खेती राम्रो हुने बताउँछन् ।

मकै खेतीमा अनुदान
कृषि ज्ञान केन्द्र भद्रपुरले आर्थिक वर्ष २०७५–७६ मा हाइब्रिड मकैखेती विस्तारका लागि १५ संस्थालाई रु ४५ लाख अनुदान रकम प्रदान गरेको छ । हाइब्रिड मकैखेती विस्तार आयोजना कार्यक्रमअन्तर्गत नगद प्रोत्साहनमा आधारित माग गर्ने कृषक समहू, कृषि सहकारी र उद्यमीको स्वीकृत क्षेत्रफलमा आधारित रहेर सो अनुदान वितरण गरिएको हो ।

अनुदान रकम लिन सफल हुनेमा सबैभन्दा बढी कचनकवल गाउँपालिका र दोस्रोमा झापा गाउँपालिका रहेको केन्द्रका कृषि प्राविधिक भट्टराईले बताए । उनका अनुसार २० हेक्टर क्षेत्रफल रहेको जमीनलाई एक क्लस्टर बनाएर प्रतिसंस्था रु तीन लाख रकम अनुदान प्रदान गरिएको छ ।

अनुदान पाउने संस्थामा कचनकवल गाउँपालिका साना किसान सहकारी संस्था, हेल्लो कृषक समूह, जलउपभोक्ता कृषि सहकारी संस्था र दुर्गा लक्ष्मी साना किसान कृषि सहकारी संस्था रहेका छन् । अर्जुनधारा–८ को हात्तीकिल्ला कृषक समूह, ९ र १० नं वडाका उद्यमी कृषक, भद्रपुर–३ का उद्यमी कृषक, बिर्तामोड ९ र ७ का कृषक र कनकाई नगरपालिकाको प्रगतिपथ कृषि सहकारी संस्था रहेको प्राविधिक भट्टराईले बताएका छन् ।

झापा धानपछि मकै खेतीका लागि उर्वरभूमि भएको बताउँदै प्रमुख भट्टराई भन्छन्, ‘भारतबाट वर्षेनी ठूलो परिमाणमा भित्रिएको मकैलाई निरुत्साहित गर्न र किसानलाई प्रोत्साहित गर्न सरकारले अनुदान रकम वितरण गरेको हो ।’

उनले हाइब्रिड जातको मकै ‘दाना’ बनाउन उपयुक्त हुने हुँदा विशेषगरी सरकारले हिउँदे मकै उत्पादनमा ध्यान दिएको बताए । झापामा मकैखेतीका लागि हावापानी अनुकूल रहेको हुँदा प्रतिहेक्टर छ देखि सात टनसम्म मकै फल्ने अपेक्षा गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७