जेठ २ मा सरकारको नीति तथा कार्यक्रम आउने, यी विषय पर्दैछन् प्राथमिकतामा


११ बैशाख २०७५, मंगलवार
samsad bhawan संसद भवन

काठमाडौं, ११ बैसाख । सरकारले २ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ । आर्थिक वर्ष ०७५-७६ को बजेट ल्याउनुपूर्व सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । सत्तारूढ नेकपा एमाले र माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनका वेला जारी गरेको संयुक्त घोषणापत्रअनुसार नै नीति तथा कार्यक्रम ल्याउन लागेका हुन् ।

samsad bhawan संसद भवन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नयाँ बजेट ल्याउनका लागि २ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका छन् । वैशाखको तेस्रो साता बजेट अधिवेशनको आह्वान गरेर २ जेठमा नीति तथा कार्यक्रम ल्याई १५ जेठमै बजेट ल्याउने सरकारको तयारी छ । कानुनमन्त्री तामाङले अहिले नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । उनले बजेट अधिवेशनमा केही कानुन तथा अध्यादेश ल्याउनेसमेत जानकारी गराए । बजेट अधिवेशन सुरु भएकै दिन संसद् कार्यसञ्चालन नियमावली पेस गर्नेसमेत सरकारको तयारी छ । ‘संसद् सुरु भएको दिन नै संसद् कार्यसञ्चालन गर्नका लागि नियमावली पेस गरिन्छ,’ मन्त्री तामाङले भने, ‘त्यो नियमावलीलाई एकदुई दिन छलफल गराएर पास गर्नेछौँ ।’

निर्वाचनपछि पहिलोपटक बसेको संसद् भने अन्तरिम नियमावलीअनुसार कार्य सञ्चालन भएको थियो । नयाँ नियमावाली बनाउन समिति गठन भए पनि सो समितिले प्रतिवेदन बुझाउन नपाउँदै अधिवेशन अन्त्य गरिएको थियो । सचिवालयका प्रवक्ता भरतराज गौतमले सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा प्रि–बजेटमाथिको छलफल प्रारम्भ गर्न आवश्यक हुने भएकाले वैशाख अन्तिम साताबाट बैठक बस्ने गरी तयारी गरिएको बताए । सचिवालयले वैशाख अन्तिम सातादेखि असार दोस्रो सातासम्मका लागि बजेट अधिवेशनको क्यालेन्डर तयार गरिरहेको छ ।

असार मध्यसम्ममा बजेटमाथि छलफल टुंगिने अनुमानका साथ दोस्रो अधिवेशन तयारी गरिएको हो । संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आय र व्यय समेटिएको बजेट ल्याउनेछ । वाम गठबन्धनको सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका वेला गरेका प्रतिबद्धताअनुसार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सरकारमा सहभागी एक मन्त्रीले बताएका छन् । घोषणापत्रमा वाम गठबन्धनले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ‘नेपालको पानी जनताको लगानी’, घरघरमा बिजुली जनतामा सेयर’ जस्ता लोकप्रिय कार्यक्रम ल्याउने उल्लेख छ ।

यस्तै, आगामी १० वर्ष्भित्र २० हजार मेगावाट विद्युत्, ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्‍याउने, जलमार्ग, पदमार्ग, केबुलकार तथा घोडेटो र गोरेटो बाटोे निर्माण, विस्तार एवं स्तरोन्नतिका बृहत् परियोजना सञ्चालन गरिनेछ र यस अवधिमा ग्रामीण क्षेत्रमा निर्माण गरिएका ८१ हजार किलोमिटर सडकलाई कृषि सडकमा रूपान्तरण गरिनेजस्ता कार्यक्रम ल्याउनेसमेत तयारी गरेको छ । यस्तै, पाँच वर्ष्भित्र २ हजार ३ सय ५० किमी रेलमार्ग निर्माण, पूर्व–पञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्गदेखि रसुवागढी, काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने, हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सिमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा ल्याउने सरकारको तयारी रहेको छ ।

आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गर्ने, काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाउनेजस्ता विषय नीति तथा कार्यक्रममा समेट्ने योजना सरकारको रहेको छ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिने लगायतका विषय पनि उल्लेख गरिने बताइएको छ । यस्तै, दुई वर्ष्भित्र खाद्यान्नमा नेपाललाई आत्मनिर्भर बनाउने, कृषिको उत्पादन दोब्बर बनाउने, पाँच वर्षमा सबै जग्गामा सिंचाइ सुविधा पुर्‍याउने नीति तथा कार्यक्रममा समावेश गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७