दशैँको साइत सार्वजनिक


६ आश्विन २०७५, शनिबार
dashai tika

काठमाडौँ, ६ असोज  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

यस्तै असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताए ।

विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।

कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

नेपाल राज्यभर दशैँ महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैँ मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ ।

किन मनाइन्छ दशैँ  ?
दशैंसँग जोडिएको हिन्दु धार्मिक कथन अनुसार महिषासुर राक्षसको जन्म पुरुष र महिषी (भैंसी)को संयोगबाट भएको थियो । त्यही कारण उसको नाम महिषासुर रहन गयो । महिषासुरलाई अमर हुने इच्छा जाग्यो । यही ईच्छा तृप्त गर्न उसले ब्रह्माजीको तपस्या गर्‍यो । उसको तपस्याले ब्रह्माजी प्रशन्न भए । ब्रह्माजीले महिषासुरलाई ‘आर्शिवाद माग्न’ भने ।

महिषासुरले ‘अमर अर्थात कहिल्यै नमर्ने’ वर माग्यो । तब ब्रम्हाजीले भने, ‘जन्मिएका हरेकले मर्नैपर्छ ।’ महिषासुरले केहीबेर सोच्यो र भन्यो, ‘तपाई मलाई यस्तो आर्शिवाद दिनुहोस् कि, देवता, असुर र मानव कसैले पनि मलाई मार्न नसकोस् । कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस् ।’

ब्रहमाजीले ‘एवमस्तु’ भने र त्यहाँबाट हिँडे । अब महिषासुरको अहंकार, दम्भ बढ्यो । उसले तीन लोकमै आतंक मच्चाउन थाल्यो । देवताको इन्द्रलोकमा पनि आक्रमण गर्‍यो ।

महिषासुरको यो व्यवहारबाट देवताहरु साह्रै दुःखी भए । उनीहरुले देवीको आह्वान गरे । तब, देवी उत्पति भइन् ।

भनिन्छ कि, देवी र महिषासुरको युद्ध ९ दिनसम्म चलेको थियो । ९ दिनपछि महिषासुरको वध गरिएको थियो । दशौं दिनमा विजयोत्सव मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म परेको थियो ।

यही मिथकका आधारमा दशैंमा दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । हिन्दु मान्यतामा दुर्गालाई शक्तिकी देवी मान्ने गरिएको छ । दुर्गा मातालाई दुर्गा भवानी, जगदम्बा, महाकाली आदि नामबाट पुकारिन्छ ।

दशैं अर्थात विजयादशमीलाई ‘असत्यमाथि सत्यको जीत’ को प्रतीकका रुपमा लिने गरिएको छ । धार्मिक मान्यता अनुसार राक्षसलाई नष्ट गर्नका लागि माता दुर्गाको जन्म भएको हो । नवरात्रमा हामी उनै दुर्गा माताको पूजा गर्छौं । यसबेला दुर्गामाताको पूजा गरियो भने शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

कहाँ कहाँ कसरी मनाइन्छ दशै‌ 

नेपाल
सबैभन्दा लामो छुट्टी, सबैभन्दा धेरै आर्थिक गतिविधि हुने, मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने समय । अनि देश विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर । सबै नेपालीमाझ दशैंको गहिरो प्रभाव छ । धार्मिक आस्था नहुनेको पनि सामाजिक आर्थिक सम्बन्ध छ यो चाडसँग ।

त्यसो त देशभित्रै पनि दशैं मनाउने शैलीमा धेरै अन्तर छन् । पुर्वमा दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिकाको चलन छ । तर पश्चिममा धेरै जसोले दशमीको दिन मात्र टिका लगाउँछ्न् । समुदाय अनुसार पुजा र खानपानमा पनि धेरै अन्तर छ ।

काश्मीर लगातार नौ दिन उपवास

नवरात्री पर्वको रूपमा भारतको काश्मीर क्षेत्रका हिन्दुहरूले दशैं मनाउँछन् । दशैंलाई निकै पवित्र चाडको रूपमा लिइन्छ । बालबालिका बाहेक घरका सबै सदश्यले ९ दिनसम्म पानी मात्र खाएर उपवास बस्ने चलन छ । हरेक दिन खीर भवानी देवीको पूजा गरिन्छ ।

  तामिल नाडु : तीन देवीको बराबर पुजा

भारतको तामिल नाडु, कर्नाटक, आन्ध्र प्रदेशमा दशहराको नाममा नौ दिनसम्म दशैं मनाइन्छ । अनौठो कुरा के छ भने उनिहरूले नौ दिन मध्ये तीन(तीन दिन छुट्टा छुट्टै देवीको पुजा गरिन्छ । सुरको ३ दिन लक्ष्मीको, त्यसपछी ३ दिन सरस्वतीको र बाँकी ३ दिन दुर्गाको पुजा धुमधाम गरिन्छ ।

  गुजरात : नौ दिन गर्बा नाच

गुजरात क्षेत्रमा नवरात्रीको नामले परिचित छ दशैं । नौ दिनसम्म हरेक रात गर्बा नाच्ने चलन छ । महिला पुरुष सँगै नाचिने यो नाँचमा अत्यन्तै आकर्षक पहिरनको प्रयोग हुन्छ । दुर्गाको मुर्ती, तस्वीर छेउमा राखी दिप प्रज्वलन गरी नाच नाचिन्छ ।

 उत्तर भारत : रामलिला

उत्तरप्रदेश, बिहार, उत्तराखन्ड र मध्यप्रदेश क्षेत्रको दशैं दुर्गा माता भन्दा भगवान राममा बढी केन्द्रित छ । नौ दिनसम्म तुलसीदासले लेखेको रामचरित्रमानसमा आधारित भएर रामलिलाको प्रर्दशन हुन्छ । बिहारको सितामाडीको जनावर, हस्तकलाका सामान र घरयासी सामान किनमेलको निकै ठूलो मेला लाग्ने गरेको छ ।

हिमाञ्चल प्रदेश : विशाल धार्मिक यात्रा, रघुनाथको पुजा

हिमाञ्चल क्षेत्रवासीले दुर्गाको अलवा स्थानी देवता रघुनाथको पनि भव्य पुजा गर्छन । हजारौं सहभागी भएर झकिझकाउ पारेका देवताका मुर्ति बोकेर यात्रा गरिन्छ । यात्रामा नाँच गान पनि गरिन्छ ।

  बंगलादेश र पश्चिम बंगालमा ५ दिन मात्र

दसहराको नाममा पश्चिम बंगालमा ५ दिन मात्र दशैं मनाइन्छ । ठाउँठाउँमा दुर्गा भगवतीका भव्य र आकर्षक मुर्ति निर्माण गरिन्छ । मिठाई र मिठामिठा परिकार पकाएर खाने चलन छ । बंगलादेशमा पनि हिन्दुहरू पाँच दिनको नै दशैं मनाउँछ्न । राजधानी ढाका लगायतका ठाउँमा देवी दुर्गाको विशाल मन्डप बनाइएको हुन्छ । अन्तिम दिन नदीमा लगेर विसर्जन गर्ने चलन छ ।

  महाराष्ट्र  दशौं दिन सरस्वती पुजा

महाराष्ट्र क्षेत्रमा दशैंको नौ दिन दुर्गाको पुजा गरिन्छ भने दशौं दिन सरस्वतीको । यो दिन स्कुल पढ्ने विद्यार्थीले सरस्वतीको आर्शिवाद माग्दै भव्य रूपले पुजा गर्छन् । नयाँ घर किन्न, घर प्रवेश गर्न र बिहेवारिका लागि यो दिन उपयुक्त मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७