कालीगण्डकीमा जलयात्रा शुरु


१९ आश्विन २०७५, शुक्रबार
rafting kaligandaki

कुश्मा, १९ असोज । वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ ।

rafting kaligandaki

केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो ।  पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी रिभरबिच क्याम्पका सञ्चालक होम पुनले बताए ।

आफ्नो कम्पनीबाट ५४ जना विदेशी पर्यटकलाई दुई दिनको अवधिमा जलयात्रा गराएको जानकारी दिए । ती सबै पर्यटक इजरायली भएको उनले बताए ।

मौसम शुरु भएसँगै सम्पर्कमा आउन थालेको केही वर्षदेखि जलयात्रा गाइडका रुपमा काम गर्दै आएको पुनले बताए । उनका अनुसार मंसिर पहिलो सातासम्म जलयात्रा नियमितरुपमा हुने गर्दछ । ‘मंसिर दोस्रो सातादेखि पानी चिसो हुन्छ, त्यसैले कम हुन्छ’, उनले भने ।

क्याम्पले लामो दूरीमा जलयात्रा नगर्ने पर्यटकलाई मालढुङ्गा र खनियाघाटबाट नयाँ पुलसम्म छोटो दूरीको जलयात्रा समेत गराउने गरेको छ । यो दूरीमा जलयात्रा गराए बापत कम्पनीले गत वर्षसम्म प्रति जलयात्री एक हजार लिने गरेकामा यस वर्षदेखि एक हजार ५०० शुल्क लिने भएको छ ।

कुश्मा नगरपालिकाले कर बढाएका कारण गत वर्षको शुल्कमा वृद्धि गरेको पुनले बताए ।
कालीगण्डकी रिभरविच क्याप, रेजिङ र्‍याफ्टिङ, प्याडल नेपाल, एक्सटरमी रिभर र्‍याफ्टिङ र स्वीसा र्‍याफ्टिङ प्रालिले कालीगण्डकी नदीमा विदेशी पर्यटकलाई र्‍याफ्टिङ गराउँदै आएका छन् ।

कालीगण्डकीमा असोजदेखि मंसिरसम्म सञ्चालन हुने जलयात्रा पुस र माघ महिनामा बन्द हुने गर्छ । फागुनदेखि जेठ अन्तिमसातासम्म र्‍याफ्टिङ जारी रहने गर्छ । विदेशी मात्रै होइन, आन्तरिक पर्यटकसमेत पारिवारिकरुपमा जलयात्राका लागि आउने गर्छन् ।

भूकम्पका कारण अन्य पर्यटकीय ठाउँमा पर्यटक कम भइरहँदा कालीगण्डकी नदीमा भने उत्साहपूर्णरुपमा विदेशी पर्यटक जलयात्राका लागि आएका थिए । लामो, समथर र कम बहाव भएकाले विदेशी पर्यटकले अन्य नदीभन्दा कालीगण्डकीलाई रोज्ने गरेको कम्पनीको दाबी छ ।

कुश्मा नगरपालिका–१ नयाँ पुलबाट शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सीमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृष्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । इजरायली, अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा कालीगण्डकीको जलयात्रा रहने गरेको छ ।

कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृष्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । इजरायली, अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा कालीगण्डकीको जलयात्रा रहने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७