गौरिका सिंह : न लक्ष्यको चिन्ता, न प्रतिद्वन्द्वीको डर


१४ बैशाख २०७६, शनिबार
gau
Gaurika Singh

काठमाडौं, वैसाख १४ । गौरिका सिंहको मुहारमा प्रायः देखिने मुस्कानमा कुनै फरक देखिएको छैन । लक्ष्य पनि स्पष्ट छ, प्रदर्शन थप सुधारिएको छ ।

आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूले भाग लिएको पौडीको सबै १२ इभेन्ट्समा उनले स्वर्ण पदक जितिन् । उनले चार वटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन् । पदकको दृष्टिकोणले उनी आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन् ।

gaurikaaa

नेपालगञ्जको एउटा स्पर्धा जितेपछि उनले भनिन्, ‘मेरो बुवाको घर बझाङ हो । त्यसैले आफ्नै घरमा आएर खेलेझैं महसुस भइरहेको छ ।’
दक्षिण एशियामा उत्कृष्ट बन्ने धोको
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ । ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन् ।
नेपाली पौडीका लागि उनी अझ विशेष छिन् । दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेद्वार हुन् ।

त्यो अवसर यसै वर्ष काठमाडौंमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ । यही उद्देश्यको पहिलो पाइला बढाउन उनी नेपालगञ्ज आएकी हुन् । ‘मेरो अबको लक्ष्य दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने हो । त्यसमा केन्द्रित भएर प्रशिक्षण गरिरहेकी छु’, उनले भनिन् ।

Gaurika Singh

दुई वर्षअघि भारतको गुवाहाटीमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई दुई सय मिटर इन्डिभिजुअल मिडलेमा रजत पदक जितेकी थिइन् । र, केही सेकेण्डले उनी स्वर्ण जित्नबाट चुकेकी थिइन् । त्यो दूरी मेटाउने उनको अबको धोको हो ।

परीक्षाको तयारी र खेलकूदको चिन्ता
आफ्नो लक्ष्यबारे उनलाई कुनै चिन्ता छैन । न त प्रतिद्वन्द्वीसँग कुनै डर नै । बरु नेपालगञ्जमा उनलाई एउटै चिन्ताले सताएको थियो निर्धारित समयमा नै प्रतियोगिता हुन्छ कि हुँदैन भनेर ।
नेपालगञ्जमा पौडी पोखरी निर्माणकै क्रममा रहेकोले निर्धारित समयमा खेल हुने टुङ्गो थिएन ।

आयोजकले दावी गरिरहे पनि पोखरीमा पानी भरिएको थिएन र गौरिका जस्तै अन्य कैयौँ खेलाडी र अभिभावक खेलतालिका तल माथि पर्न सक्ने डरमा थिए । आठौँ राष्ट्रिय खेलकुद आयोजकले केही दिन प्रतियोगिता सारेर भए पनि नयाँ पौडी पोखरीमा नै खेल सञ्चालन गर्ने भनिरहेका थिए ।

छोरीलाई साथ दिन आएकी गौरिकाकी आमा गरिमा राणा सिंह भन्छिन्, ‘अर्को हप्ता छोरीको ओ लेभलको परीक्षा छ । समापन लगत्तै भोलिपल्ट हाम्रो लन्डनको टिकट बुक भइसकेको छ । त्यसैले खेल तालिका सर्छ कि भन्ने डर थियो । धन्न समयमै खेल भयो ।’

gaurika 1

त्यसैले गौरिका जस्तै विदेशबाट आएका थुप्रै खेलाडी र अभिभावक नयाँ पोखरीमा खेल्न नपाएकोमा दुःखी छैनन् । बरु २५ मिटरको होटलको सानो पोखरीमा खेल्न पाएकोमा पनि खुशी नै छन् ।

बरु एउटा संयोग के मिलेको छ भने १३ औँ साग काठमाडौं २५ मिटरको पौडी पोखरीमा नै हुन लागेको छ । काठमाडौंमा मंसिरमा साग हुन लागेको हुँदा चिसो पानीमा त्यो सम्भव हुँदैन र अन्तर्राष्ट्रिय नियम अनुसार २५ मिटरको पौडी पोखरीमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ । अहिले काठमाडौंमा २५ मिटरको हिटिङ पुल निर्माण भइरहेको छ ।

सर्ट कोर्ष
नेपालगञ्जमा भएको पौडी प्रतियोगिता पनि शर्ट कोर्षमा भयो । ५० मिटर पोखरीमा खेल्ने लङ्ग कोर्ष र २५ मिटरको शर्ट कोर्षका सबै नियम फरक हुन्छन्, समय तालिका समेत ।

त्यसैले भएका कीर्तिमानहरू शर्ट कोर्षकै तोडिएका हुन् । गौरिका त्यसमा पनि अब्बल भइन् । लण्डनमा हप्ताको १६ घण्टा नियमित कडा प्रशिक्षण लिने गौरिकाको वास्तवमा आठौँ राष्ट्रिय पौडीमा कसैसँग प्रतिष्पर्धा थियो भने आफैसँग थियो ।

अरू प्रतिद्वन्द्वीलाई निकै पछि पारियो नि भनी प्रश्नमा स्वाभाविक मुस्कान छर्दै उनले भनिन्, ‘मेरो ध्यान आगामी साफमा स्वर्ण जित्ने हो । त्यसका लागि कडा मेहनत गर्ने हो । समय सुधार्ने हो । प्रतिद्वन्द्वी को हो भन्ने होइन् । मेरो प्रतिष्पर्धा मेरै पुरानो कीर्तिमानसँग हो ।’ साफको उद्देश्यसँगै १६ वर्षीया गौरिकाका अगाडि थप दुई प्रतियोगिता छन् ।

पहिलो आगामी जुलाईमा दक्षिण कोरियामा हुने विश्व च्याम्पियनशीप र त्यसपछि २०२० ओलिम्पिक्समा छनोट हुनु । आमा गरिमालाई भने गौरिकाको चोटले हल्का चिन्तित बनाएको छ । अहिले गौरिकाको बाँया काँधमा चोट छ ।

गरिमा भन्छिन्, ‘सागमा स्वर्ण जित्नु र ओलिम्पिक्स पुग्नुसम्ममा लामो बाटो छ । हामी आफ्नो ठाँउबाट पूरा मेहनत गर्दैछौँ । हामीलाई सरकारको साथ अझै महत्त्वपूर्ण ऊर्जा हुनेछ ।’ जति चिन्ता उनको अभिभावकलाई छ शायद गौरिकालाई नहुन पनि सक्छ ।

उनको त एउटै दृष्टि छ । निरन्तर मेहनत गरिरहने र त्यसमा एक क्षण पनि अल्छी नहुने वा विलम्ब नगर्ने । आठ महिनापछि काठमाडौंको चिसो मौसमले त्यसको नतिजा दिनेछ । उनी भन्छिन्, ‘त्यसमा मबाट कुनै चुक हुने छैन् ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७