चन्दा संकलनबाटै रुम्जाटारमा १५ करोडको वौद्ध गुम्बा

तन विदेशमा मन गाउँको विकासमा


२५ बैशाख २०७६, बुधबार
hong

हङकङ, २५ वैसाख । मन मिले गाउँघरको विकास आफैले पनि गर्न सकिन्छ भन्ने कुराको उदाहरण रुम्जाटारमा निर्माण भइरहेको १५ करोड लागतको वौद्ध गुम्बालाई हेर्दा हुन्छ ।

देश–विदेशमा रहेका नेपालीहरुको चन्दा संकलनबाट गुरुङ समुदायको वहुलता रहेको रुम्जाटार वहुउद्देश्यसहितको १५ करोड लागतको रुम्जाटार बौद्ध गुम्बा’ निर्माण भइरहेको छ । गुम्बा निर्माणका लागि अहिलेसम्म चन्दा, दानबाट सात सय हाराहारीबाट ५ करोड रकम संकलन भइसकेको छ ।

hongkong
विदेशी भूमिमा रहेर पनि गाउँको विकासमा जुटेकाहरु चियापान कार्यक्रमपछि सामुहिक तस्विर खिचाउँदै

झण्डै १० रोपनी क्षेत्रफलमा निर्माण भइरहेको गुम्बास्थलमा अहिलेसम्म भगवान बुद्धको मूर्ति, पर्खाल निर्माणको काम पूरा भइसकेको छ । जेठ ४ गते बुद्ध पूर्णिमा (२५६३ औं बुद्ध जयन्ती) का दिन मूर्तिको प्राण प्रतिष्ठान र गुम्बाको उद्घाटन गर्ने कायक्रम रहेको छ ।

दाताहरुबाट सहयोग संकलनको काम जारी रहेकोले अब उक्त क्षेत्रमा स्तुपा, लामाहरु बस्ने– पढने घरलगायत अन्य विविध कामहरु बाँकी रहेको निर्माण समितिले जानकारी दिएको छ ।
यता गुम्बा निर्माणको लागि सहयोग जुटाउन आइतबार हङकङ जोर्डनमा रहेको नयाँपेजको कार्यालय उसुङ स्ट्रिटमा विशेष चियापान कार्यक्रम आयोजना गरिएको छ ।

उक्त चियापान कार्यक्रममा अनलाइन निम्तो अनुसार तमु समाज हङकङ, चितवन समाज हङकङ, प्रदेश–१ गुरुङ समाज, भोजपुर गुरुङ समाज, युनिटी तेक्वान्दो, कोने, घोण्डे घोताने गुरुङ समाजलगायत पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । सोही चियापान कार्यक्रममा २४ जनाले ‘रुम्जाटार वौद्ध गुम्बाको सदस्यता लिई १० लाख ७७ हजार ७६८ (हङकङ डलर ७४,८४५) सहयोग संकलन भएको छ ।

उक्त रकम उपलब्ध गराउने महानुभावलाई रुम्जाटार गुम्बा फाउन्डेसन तथा रुम्जाटार सोसाइटी हङकङ हार्दिक धन्यवाद समेत दिएको छ । सहयोग प्रदान गर्ने सबैको नामावली चाँडै प्रकाशन गरिने पनि रुम्जाटार सोसाइटी हङकङले जनाएको छ ।

नेपाललाई चिनाउन भगवान गौतम बुद्धको ठूलो देन रहेको, गौतम बुद्धको शान्तिको सन्देश विश्वभर फैलिएको र उहाँको ज्ञान र दर्शनलाई भावीपुस्तासम्म जस्ताको त्यस्तै रुपमा पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गरिएको रुम्जाटार वौद्ध गुम्बा फाउन्डेशन हङकङका संयोजक नरेन्द्रराज गुरुङ्गले बताएका छन् ।

गुम्बा निर्माणार्थ व्यक्तिगत रुपमा २५ हजार रुपैंयाँ सहयोग गर्ने र संस्थागत एक लाख भन्दा माथि सहयोग गर्नेहरुको नाम, ठेगाना मार्वलमा अभिलेखीकरण गर्ने पनि गुरुङ्गले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७