अमेरिकामा नेपाली छुर्पीको छुट्टै ‘ब्राण्ड’


३० बैशाख २०७६, सोमबार
Chhurpi

काठमाडौं, (इलाम) ३० बैसाख । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशहरुबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्राण्ड बनाउन थालेको छ ।

Churpi 1

दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि वर्षेनी बढ्दो छ । कुकुरको आहाराको लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाऊ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन । इलामका विभिन्न गाउँका गोठहरुबाट छुर्पी संकलन गर्दै आएका जमुनाका केवल राई यहाँको छुर्पी पोषिलो र स्वादिलो हुने गरेका कारण माग वर्षेनी बढिरहेको बताउँछन् । उनले भने, ‘छुर्पीको माग बढ्न थालेपछि किसानले पहिला भन्दा बढी मूल्य पनि पाइरहेका छन् ।’

अमेरिकामा अहिले बार्षिक चार लाख किलो नेपाली छुर्पीको माग भए पनि नेपालले दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताहरुले जनाएका छन् । ‘अहिले वार्षिक चार लाख किलो भन्दा बढी नेपाली छुर्पीको माग छ’–अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेशनका सुजन श्रेष्ठ भन्छन्, ‘मागको तुलनामा आधा मात्र पुर्‍याउन सकेका छौ ।’

Churpi

‘हिमालयन डग ट्यु’ को ब्राण्डमा नेपाली छुर्पी अमेरिकालगायतका देशमा निर्यात हुन थालेपछि उत्पादकहरुले समेत राम्रो मूल्य पाइरहेका छन् । १० वर्षदेखि मुख्य गरी अमेरिका, क्यानडा, मेक्सिको, जापानलगायतका देशमा कुकुरको आहाराका लागि नेपाली छुर्पी निर्यात हुँदै आएको छ ।

‘अन्य देशहरुमा समेत गरेर सात लाख किलो जति छुर्पीको माग छ’–निर्यातकर्ता श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म चार लाख किलो छुर्पी गइरहेको छ ।’ माग पूरा गर्न नसकेपछि हिमालयन कर्पोरेशनले युरोपियन देशहरुमा अहिले छुर्पी निर्यात गर्न नसकेको उनले जानकारी दिए ।

इलामको पूर्वी क्षेत्रबाट कुकुरको आहाराको रुपमा छुर्पी विदेश निर्यात भइरहेको छ । इलाम, तेह«थुम र ताप्लेजुङ्गका साना उद्योगहरुमा उत्पादन भएको छुर्पी संकलन गरेर ग्रेडिङ्ग गरेपछि विदेश निर्यात हुने गरेको छ । निर्यातकर्ताहरुले ग्रेडिङ्गको आधारमा चार सय रुपैयाँदेखि साढे सात सय रुपैयाँ प्रतिकिलोका दरले किनेर छुर्पी निर्यात गर्ने गरेका छन् ।

‘गुणस्तर र एकै साइजको छुर्पी नबन्दा निर्यात पूरा गर्न नसकेका हौ’–निर्यातकर्ता श्रेष्ठ भन्छन्, ‘राम्रो बनाउन सक्ने हो भने नेपाली छुर्पीको ब्राण्ड स्थापित भइसकेको छ ।’ अमेरिकाको माग पूरा गर्नको लागि बाँकी छुर्पी त्यही (अमेरिकामा) नै उत्पादन शुरु भएको उनले जानकारी दिए । ‘अमेरिकामा नै कुकुरका लागि बर्षेनि दुई लाख किलो छुर्पी उत्पादन गर्दै आएका छौ’–उनी भन्छन्, ‘त्यहाँ उत्पादन गर्न सस्तो पर्छ तर, नेपालमा बनेको छुर्पीको माग नै बढी छ ।’

इलाममा मात्रै एक सय एक वटा छुर्पी बनाउने उद्योग छन् । तर, साना उद्योग मात्र भएकाले गुणस्तरको उत्पादन हुन सकेको छैन । प्रतिकिलो छुर्पी उत्पादनमा सरदर छ सय ५० रुपैयाँ पर्ने एक अध्ययनले देखाएको छ ।

यहाँको कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको उन्नती कार्यक्रमले गरेको अध्ययन अनुसार प्रतिकिलो छुर्पीको उत्पादनमा छ सय ५० रुपैयाँ लगानी लाग्ने गरेको तथ्याङ्कले देखाएको थियो । तथ्याङ्गले एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्ने देखाएको छ । तर, एक किलो छुर्पी बनाउँदा एक किलो घ्यू पनि निस्किन्छ, त्यसबाट किसानलाई छुट्टै फाइदा हुन्छ ।

बाहिरी बजारमा तीन सयदेखि चार सय रुपैयाँको हाराहारीमा छुर्पी विक्री हुने गरेको छ । क्रेताको मापदण्ड अनुसार उत्पादन गर्न सकिए छुर्पी विदेश निर्यात गरेर राम्रो कमाई गर्न सकिने विज्ञ बताउँछन् । छुर्पीलाई अन्य उत्पादन जस्तै ठूलो परिमाणमा उत्पादन गरियो भने उत्पादन लागत समेत घट्छ, बजार पनि विस्तार हुन्छ ।

इलाममा मात्रै सरदर दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादनको ५४ प्रतिशत मात्रै फ्रेस मिल्कमा विक्री हुने गरेको जनाइएको छ । आधा जति दूध छुर्पी, चिज, ललिपप बनाइन्छ । इलाममा बार्षिक दुई सय सात मेट्रिक टन छुर्पी उत्पादन हुने गरेको छ । हिमालयन कर्पोरेशनले कुकुरका लागि चाहिने छुर्पी बनाउन अहिले उद्योग सञ्चालकलाई तालिम गराउँदै आएको छ ।

माग बढेपछि कुकुरको आहारामा छुर्पी निर्यातको काम अन्य ब्यवसायिक कम्पनीले समेत थालेका छन् । नेपालमा उत्पादित छुर्पी अन्य देशको भन्दा स्वस्थ र गुणस्तरीय हुने गरेका कारण तेस्रो मुलुकका नागरिकको माग नेपाली उत्पादनतर्फ नै बढी रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७