‘बदलिएको मोड’ लोकार्पित


१८ जेष्ठ २०७६, शनिबार
jamuna khatri book bimochan 1

काठमाडौं । शिक्षाकर्मी जमुना खत्रीद्वारा लिखित पुस्तक ‘बदलिएको मोड’ को मंगलबार राजधानीको लेखन–कुञ्जमा विमोचन भयो । उक्त पुस्तकको विमोचन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमलप्रसाद चौलागाईं, उत्तर कोरियाका राजदूत झो युङ मान, प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, साहित्यकार सुलोचना मानन्धर, घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल र साहित्यकार÷पत्रकार विवश वस्तीले संयुक्त रुपमा गरे ।

उत्तर कोरियाका नेता किम जोङ इलले कोरिया मजदुर पार्टीको केन्द्रीय समितिमा काम सुरु गर्नुभएको ५५औं वर्षगाँठको उपलक्ष्यमा उहाँको योगदानको स्मरण गर्दै उक्त पुस्तक बजारमा ल्याइएको हो ।

विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि चौलागाईंले खत्रीको आत्मकथा प्रेरणादायी रहेको बताए । उनले भने, ‘शैक्षिक र राजनीतिक क्षेत्रमा क्रियाशील रहे पनि खत्रीले सदैव निष्काम काम गर्नुभयो । आफ्ना सहकर्मीहरु राजनीतिको माथिल्लो तहमा पुगे पनि उहाँले भने कसैबाट पनि कहिल्यै राजनीतिक वा अरु किसिमका लाभ लिने काम गर्नु भएन ।’
उत्तर कोरियाका राजदूत मानले साहित्यले क्रान्ति र परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आफ्नो देशले समाजवादका लागि लडेको स्मरण गराए । उनले भने, ‘म नेपालमा राजदूत भएर आएको चार महिना बित्यो । नेपालमा बस्दा मैले के थाहा पाएँ भने नेपालीहरु समाजवाद स्थापना गर्ने दिशातिर उन्मुख हुँदैछन् । समाजवाद निर्माणमा लेखकहरुको महत्वपूर्ण भूमिका हुने गर्छ ।’

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले खत्रीको पुस्तकले अरुलाई पनि बाँच्न उत्प्रेरित गर्ने बताए । उनले भने, ‘उहाँले जुन चिन्तन बोक्नुभएको थियो, त्यही चिन्तन र विचारले उहाँलाई कहिल्यै विचलित तुल्याएन, आफ्नो लक्ष्यमा अघि बढ्न क्रियाशील तुल्याइरह्यो ।’ साहित्यकार सुलोचना मानन्धरले खत्रीसँग कलेज पढ्दाका समयदेखि राजनीतिक यात्रामा सँगै हिँड्दाका अनुभवहरु सुनाएकी थिइन् ।
लेखिका खत्रीले आफ्नो जीवनकथाले अरुलाई विचलित नभई अगाडि बढ्ने प्रेरणा दिने बताइन् । उनले भनिन्, ‘जीवनदेखि विरक्तिएर भाग्नेहरुका निम्ति मेरो जीवनकथाले जिउँने प्रेरणा दिन्छ ।’ पुस्तक प्रकाशन संस्थाका अध्यक्ष ढकालले घोस्ट राइटिङ नेपालले हरेक मान्छेभित्र आफूले महापुरुष र महान पुस्तक लुकेको बताउँदै त्यो पुस्तक र पुरुषार्थ बाहिर ल्याउन आफू दत्तचित्त भएर लागेको बताउँदै खत्रीको पुस्तक प्रेरणाको पुञ्ज भएको बताए । उक्त पुस्तकको सम्पादन पत्रकार÷साहित्यकार विवश वस्तीले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७