तीन महिना बन्धक बनाएर दैनिक सामुहिक बलात्कार


२२ जेष्ठ २०७६, बुधबार
janakpur

जनकपुरधाम, २२ जेठ । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिंडिरहेका थिए ।

अकस्मात् उनीहरूका अगाडि तीन जना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हात–खुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो । त्यसपछि के भयो थाहा छैन ।’

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामुहिक बलात्कार भयो । किशोरीको हात खुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीरभर पोलेका फोका छन् । कुटपिटको नीलडाम छन् । ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हात खुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो ।’

राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें । मुखमा कपडा कोचिदिन्थे । कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे । फेरि सुई लगाएर बेहोस बनाइदिन्थे ।’ सकिला खातुन भन्ने महिला र तीन जना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन् । उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे । तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे ।’

जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन् । अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन् । उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन् । खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन् ।

उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु ।’ किशोरीको आर्थिक अवस्था कमजोर छ । उनको जीवन रक्षाका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ले एक पिन्ट रगत दिएका छन् ।

‘ती दिदी भगवान’
‘सकिलाले एक दिन केटाहरूसँग यो केटी धेरै हल्ला गर्छे, अब छिट्टै तह लगाउनुपर्छ भन्नेर कुरा गरेको सुनें,’ किशोरीले भनिन् । त्यसपछि बिक्री गर्न लागे भनेर उनी निकै डराइन् । अनि रातको समयमा उनले झ्यालको दुलोबाट एक महिलालाई दुःख सुनाइन् । ती महिलाको सहयोगमा उनी नेपाल फर्कन सफल भएकी हुन् ।

‘ती दिदीले बिहानै अटोवाला काकालाई बोलाउनु भयो । मलाई दुई हजार रुपैयाँ पनि दिनुभयो । ती दिदी मेरा लागि भगवान् नै हो ।’ केहीबेर अटोमा यात्रापछि उनी भिठ्ठामोडको बस चढेर नेपाल आएकी हुन् । अनि जनकपुरको रामान्दचोकमा आएर प्रहरीमा उजुरी दिइन् ।

‘नर्स बन्छु’
उनका बुवा आमा गरिब छन् । त्यसैले उनलाई कसले उपचार गरिदिन्छ भन्ने चिन्ता छ । उनले भनिन्, ‘कक्षा ९ मा पढ्दै गर्दा ममाथि घटना भयो । अब पढेर नर्स बन्छु ।’ उनकी आमा अरूको खेत अधियाँमा लिएर काम गर्छिन् । त्यहींबाट हुने आम्दानीले उनीसहित दुई बहिनीलाई लालनपालन हुँदै आएको छ ।

ती किशोरीले भनिन्, ‘पापीहरूलाई सरकारले सजाय देओस्, म पहिला पढ्छु अनि बेटीहरूको रक्षाका लागि लड्छु ।’

एक जनाविरुद्ध मुद्दा
महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डिएसपी रामेश्वर कार्कीले बताए । रवानीसहित चार जनाले भारतमा बन्धक बनाई बलात्कार गरेको उजुरी परेको छ ।

चारै जना फरार छन् । कार्कीले भने, ‘पीडित बालिकाको मेडिकल गराएका छौं । करणी भएको पुष्टि भयो ।’ सबै तथ्य संकलन गरेर अनुसन्धान शुरु गरिएको उनले बताए । ‘भारतीय प्रहरीसँग दोषी पक्राउ गर्न समन्वय भइरहेको छ,’ कार्कीले भने । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७