कर्मचारीलाई बिर्के टोपी अनिवार्य


२ असार २०७६, सोमबार
karmachari

तनहुँ, २ असार । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्के टोपी लगाउन शुरु गरेका छन् ।

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्के टोपी लगाउन शुरु गरेका हुन् ।

नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

उनले भने, ‘भानुभक्तको नामबाट नामाङ्कन भएको नगरपालिकामा आउने सबैलाई भानुभक्तीय टोपीको बारेमा जानकारी दिन र पहिचान झल्काउन बिर्खे टोपी लगाउन शुरु गरेका हौं ।’

पाण्डेका अनुसार नगरपालिकाभित्र कार्यरत १०० भन्दा बढी कर्मचारीले बिर्के टोपी लगाउन शुरु गरेका छन् । राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचार प्रसारका लागि भानुभक्तीय टोपी लगाउन कर्मचारीलाई आग्रह गरेबमोजिम कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

उनले भने, ‘आदिकविको सम्मान र प्रचारप्रसार गर्ने उद्देश्यसहित यस्तो नियम लागू गरिएको हो ।’ उनका अनुसार नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७