‘काकाकुल’ गाउँमा खानेपानी आएपछि खुशीयाली


७ असार २०७६, शनिबार
tap

वालिङ, ७ असार । खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घर परिवारमा पानीसँगै खुशीयाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पुर्‍याइएको हो ।

गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०–२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।

घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताए ।

‘सिँचाइको त कुरै छाडौँ खानेपानी समेत नहुँदा दैनिकी कष्टकर बनेको थियो’, उनले भने, ‘अहिले योजना सम्पन्न भई गाउँमै खानेपानी पुगेपछि घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।’

वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख र गत आवमा सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडा सदस्य इन्द्रबहादुर गुरुङले बताए ।

५४ मध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मत सम्भार कोष स्थापना समेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७