पहुँच मार्गले चार बस्ती सुरक्षित


३ आश्विन २०७६, शुक्रबार
mahakali

कञ्चनपुर, ३ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ बडैपुरमा स्थानीय मानसिंह लुहार अझै पानी विगतको बाढीको दुःख सम्झेर झस्किन्छन् । महाकाली नदीको तटीय क्षेत्रमा चार कट्ठा जमीनमा खेतीपाती गरेर गुजारा गर्दै आएका लुहारले लामो समय वर्षात्मा आउने बाढीले समस्यामा परेको सुनाए ।

विसं २०२२ देखि यहाँ बस्दै आएका लुहारले विसं २०६५ यता आएका बाढीले खेतीयोग्य जमीनमा बालुवा भरिँदा अन्न फलाउनमै मुश्किल भएको बताए । ‘कैयौं दिन बाढीले बस्ती डुबान पर्दा गाउँ छाडेर आफन्तकामा गएर आश्रय लिएको थिए’, उनले भने, ‘अहिले यति ठूलो आयोजना आँगनमा आउँदा सपना जस्तै लाग्छ ।’

‘नदी गाउँ पस्दा बालुवा खेत र घरमा भरिन्थ्यो’, उनले भने, ‘दुई वर्षपछि भोगेको पीडा सुनाउँदा नयाँ पुस्तालाई कथा जस्तै लाग्न सक्छ ।’ महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको शुरुआत भएको ठाउँ छेउमै टहरामा आश्रय लिँदै आएका लुहारलाई गत वर्षदेखि भने बाढीको चिन्ता नै छैन ।

‘अब त बाढी आएका बेला नदी छेउमा गएर नियाल्नुपर्नेछ’, उनले भने, ‘सडकसँगै बन्ने तटबन्धले बस्ती सुरक्षित छ ।’ बडैपुरका लुहार जस्तै महाकाली तटीय क्षेत्रका बडैपुर, ऐरी, ओदाली र भुजेलाका स्थानीयवासी महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै छ लेनको पक्की सडक (पहुँच मार्ग) को निर्माणले हर्षित छन् ।

झण्डै एक दशकअघि महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका–११ भुजेला सबैभन्दा बढी प्रताडित बनेको थियो । भुजेलाका दर्जनौँ परिवारको बाढीकै कारण उठिबास लाग्नुका साथै त्यहाँ भएका स्कूल, मठमन्दिरलगायत सार्वजनिक संरचना समेत बगेका थिए ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले तटीय क्षेत्रमा बनिरहेका संरचनाका कारण बस्ती सुरक्षित भएको बताए । ‘अब तटबन्ध निर्माणका लागि धाउनुपर्ने दिन गए’, वडाध्यक्ष शाहीले भने, ‘विगतमा तटीय क्षेत्रका बासिन्दाले धेरै रात वर्षात्मा नसुतेरै काटेका थिए ।’ उनले निर्माणाधीन पुलको दक्षिणतर्फ पनि तटबन्ध निर्माण भइसकेको बताए ।

त्यसैगरी भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रेम जैसीले पहुँच मार्ग बनेपछि महाकाली र जनज्योती टोल २०० परिवार सुरक्षित हुने बताए । ‘पहिले बाढीका बेला यहाँ घरखेत बगेको थियो’, उनले भने, ‘यहाँका विपन्न बस्तीबाट छ लेनको पक्की सडक सञ्जाल विस्तार हुँदा गाउँमा खुशीको सीमा छैन ।’ उनले महाकाली तटीय क्षेत्रमा २०२०–२२ सालदेखि बसोबास रहेको जानकारी दिए ।

यसअघि जनताको तटबन्ध फिल्ड कार्यालय भीमदत्तनगरले पनि महाकाली नदीमा करोडौँको लागतमा तटबन्ध निर्माण गरेको थियो । पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सर्टक्सन कम्पनी (सिएफासी) का इञ्जिनीयर किशोरराज पाण्डेयले महाकाली पारी भीमदत्त नगरपालिकातर्फ छ लेनको साढे पाँच किलोमिटर पक्की सडक बनिरहेको बताए ।

उनले हाल तटबन्ध रहेको ठाउँमा पहुँच मार्गको निर्माण तीव्रगतिमा भइरहेको बताए । ‘पहुँच मार्ग निर्माणका क्रममा माटो भरान र बाटोको दुवैतर्फ पक्की नाली बनाउने काम चलिरहेको छ ।’ इञ्जिनीयर पाण्डेयले भने, ‘पुलसँगै बन्ने पहुँच मार्ग सुरक्षित राख्न बन्ने तटबन्धले यहाँका छेउका सबै बस्ती बाढीबाट सुरक्षित हुन्छन् ।’

पहुँच मार्गको छेउमा ऐरीघाटमा तटबन्ध र १२० मिटर लम्बाइका दुई वटा स्पर निर्माण भइसकेको उनले जानकारी दिए । ‘मुआब्जा वितरण ढिलाइले पहुँच मार्ग निर्माणमा केही ढिलाइ भयो’, उनले भने, ‘अब निर्माणमा कुनै खाले समस्या छैन ।’

पहुँच मार्गअन्तर्गत ऐरी घाट र गड्डाचौकीस्थित सिँचाइको नहरमा गरी दुई वटा पक्की पुल निर्माण भइसकेको पाण्डेयले बताए । ‘पुलसँगै छेउ बन्ने ड्यामले अब बस्तीभन्दा करीब ६०० मिटर पर नदी बग्छ’, उनले भने, ‘स्थानीयलाई आवागमनसँगै बस्ती सुरक्षित हँुदा दोहोरो फाइदा पुग्नेछ ।’

महाकालीमा पक्की पुल निर्माणको शुरुआतसँगै तटीय क्षेत्रमा जग्गाको कारोवार समेत बढेको स्थानीयवासीको भनाइ छ ।

भीमदत्तनगरपालिका–१२ ओदालीका वडाध्यक्ष कृष्ण देउवाले सडक तटीय क्षेत्रमा भइरहेको सडक निर्माणले यहाँका २५० परिवार सुरक्षित भएको बताए । ‘विगतमा तटबन्धको स्पर बग्नेदेखि अन्नबाली नोक्सान र बस्ती डुबानको समस्या अब टरेको छ’, उनले भने, ‘तीन वर्षयता यहाँ ठूलो बाढी पनि आएको छैन ।’

उनले बस्तीमा सडक रहँदा जग्गाको मूल्य पनि आकाशिएको बताए । ‘पहिले रु ५० हजारमा बिक्री नहुने जग्गा अहिले प्रतिकठ्ठा रु आठ–नौ लाखसम्म किनबेच हँुदैछ’, वडाअध्यक्ष देउवाले भने, ‘पुल र सडकले गाउँको मुहार फेरिने निश्चित छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७