भोजमा काँक्राको अचार खाँदा ३१ जना बिरामी


२३ आश्विन २०७६, बिहीबार
kakrakoachar

सुर्खेत, २३ असोज । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैं भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् ।

स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुना समेत बिरामी परेका हुन् ।

स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ ।

बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडा बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

माया नर्सिङ होमका डा. कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए । ‘अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ’, उनले भने, ‘फुड प्वाइजन को अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७