दार्चुलाको समृद्धि : ‘चीनको सीमा नाकासम्म दार्चुला तिङ्कर सडक’


प्रकाशित मिति : October 11, 2019

काठमाडौं, २४ असोज । ब्यास गाउँपालिका–१ तिङ्करका ६१ वर्षीय पुरनसिँह तिङ्करीले नेपालतिरको बाटो भएर गाउँ आउतजावत नगरेको दुई दशक हुन थाल्यो ।

द्वन्द्वकाल अघिसम्म दार्चुला सदरमुकाम खलङ्गादेखि व्यासको तिङ्कर गाउँ जान नेपालकै बाटो भएर सजिलै पुगिन्थ्यो ।

पञ्चायतकालमा भारतीयले समेत प्रयोग गर्ने खलङ्गा–तिङ्कर गोरेटो बाटो द्वन्द्वकालीन समयदेखि नै अवरुद्ध भएको छ । पञ्चायतकालमै निर्माण भएको बाटो देशमा संकटकाल लागेदेखि सरकारले ध्यान गएको छैन् ।

‘सौका समुदायबाट पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएर सहायकमन्त्री समेत भएका बहादुरसिंह ऐतवालको पालामा दार्चुला–तिङ्कर घोरेटो बाटो बेनेको हो’, ब्यास गाउँपालिका–१ छाङरुका स्थानीयवासी ६५ वर्षीय जीतबहादुर बोहराले भने । त्यसपछि बनेका सरकारको यो बाटो निर्माणतर्फ ध्यान गएको छैन् ।

देशमा बहुदल आएसँगै ब्यास जोड्ने बाटो भत्कन शुरु गरेको थियो । बाटो मर्मतका नाममा आउने रकम स्थानीय नेता कार्यकर्ताले अपचलन गरेको हुँदा पनि घोरेटो बाटो विस्तारै प्रयोगविहीन हुन थालेको छ । अहिले भारतले नदी किनारमा सडक बनाउँदा नेपालको बाटो बन्द भएको छ ।

‘पञ्चायतकालमा भारतीय व्यापारी र कैलाश मानसरोवर जाने धार्मिक तीर्थ यात्री समेत नेपालको बाटो भएर आउँथे, अहिले बाटो नै छैन’, उनले भने । पञ्चायतकालमै निर्माण भएको गोरेटो बाटो त अलपत्र नै पर्‍यो तर गणतन्त्र आएपछि निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक पनि अलपत्रै छ ।

११ वर्षअघि दार्चुला तिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने सडक पछिल्लो समय ओझेलमा परेको छ । महाकाली करिडोरअन्तर्गत बजेट विनियोजन हुन थालेपछि दार्चुला–तिङ्कर सडक निर्माण ओझेलमा परेको हो ।

आर्थिक वर्ष २०६५–६६ बाट दार्चुला–तिङ्कर सडकको रुपमा नामाकरण हुँदै शुरु भएको सडकले गति लिएको छैन् । अहिले यही सडकलाई महाकाली करिडोर नामाकरण गरिएको छ । महाकाली करिडोरअन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदैछ ।

दार्चुला–तिङ्कर सडक निर्माणमा प्रगति भएको छैन् । दुई वर्षदेखि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका केही ठाउँमा निर्माण कार्य भए पनि चीनसँग जोड्ने गरी निर्माण भएको काम भने प्रभावित भएको छ । तिङ्कर छुने गरी निर्माण हुनुपर्ने सडक अहिले बैतडी–डडेल्धुरा क्षेत्रमा मात्रै काम शुरु भएको छ ।

दार्चुला–तिङ्कर सडकअन्तर्गत ११ वर्षमा ३० किलोमिटरको साधारण ट्रयाक खुलाउने काम मात्रै भएको छ । ब्यासको सुनसेराभन्दा माथिल्लो क्षेत्रमा कामले गति लिएको छैन् । सडक निर्माणले गति नलिँदा ब्यासको तिङ्करसम्म गाडी गुडला र ब्यासको स्याउ तराई ढुवानी गर्ने सपना बुनेको व्यासी अहिले पनि निराश छन् ।

सुदूरपश्चिम प्रदेशकै चीनसँग नाका जोडिने छोटो मार्गको रुपमा रहेको दार्चुला–तिङ्कर सडक निर्माणको लागि पटक–पटक सरकारलाई दबाब दिँदै आएको सुदूरपश्चिम प्रदेशका प्रदेश सदस्य गेल्बुसिंह बोहराले बताए ।

‘हामीले शुरुदेखि नै दार्चुलाबाट तिब्बत जोड्ने गरी छोटो मार्गको रुपमा दार्चुला–तिङ्कर सडकको निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छौं’, बोहराले भने । यो मार्ग हुँदै नाका खोले नेपाल भारत र चीनसँगको व्यापारमा सहज हुनेछ । यति मात्र हैन, दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने बोहराको भनाइ छ ।

पछिल्लो समय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा दार्चुलाको तिङ्कर नाका चीनसँग जोड्ने गरी काम हुने बताए पनि यो वर्षको बजेट पनि पर्याप्तरुपमा विनियोजन भएको छैन् । करिडोरकै लागि रु ३० करोड बजेट आउने गरेको छ ।

यही शनिबार चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा यो नाकाले प्राथमिकता पाउनुपर्ने बताउँछन् जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की । ‘‘चीनसँग सीमा जोडिएको क्षेत्रको जिल्ला भएको हिसाबले दार्चुलाको तिङ्कर हुँदै चीन जोड्ने सडकको कुरा भ्रमणका क्रममा प्राथमिकता साथ उठ्नुपर्छ’, कार्कीले भने ।

‘त्रिदेशीय सीमा भएका कारण पनि यो सडकको महत्व छ’, उनले भने । ११ वर्षसम्म गति नलिएको सडकलाई सरकारले समेत चासोका साथ काम अघि बढाउनुपर्नेमा उनको सुझाव छ । अहिलेको समयमा तिङ्कर सडकको कुरा उठाउन सके सुदूरपश्चिमको व्यापारिक, धार्मिक र पर्यटकीय मार्गको रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिङ्कर सडकको साधारण बाटो गत वर्ष ब्यास गाउँपालिकाको सुनसेरासम्म खोलिएको छ । गत वर्ष सुनसेरासम्म गाडी पु¥याइएको भए पनि अहिले यो सडकले ब्यास गाउँपालिका वडा नं ४, ५ र ६ को सीमा जोडेको छ । सडक निर्माणलाई प्राथमिकता दिने हो भने ब्यास क्षेत्रमा महाकाली नदीमाथि बनाइएका तुइनस मेत विस्थापित हुनेछन् ।

तिङ्करसम्म गाडी पुर्‍याउन सके दार्चुलासहित सुदूरपश्चिम प्रदेशकै धार्मिक, व्यापारिक र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । निर्माण व्यवसायीबाट काम गराउँदा राष्ट्रिय प्राथमिकताको तिङ्कर सडक निर्माणमा ढिलासुस्ती हुने भन्दै प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले पटक–पटक नेपाली सेनालाई जिम्मेवारी दिन आग्रह समेत गरेका छन् ।

दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउद चीनको दुर्गम क्षेत्रमा पनि चरम विकास भएको बेला नेपाल सरकारले चीनसँग सीमा जोडिने दार्चुलाको तिङ्कर सडकलाई व्यापारिक नाकाको रुपमा विकास गर्नुपर्ने बताउँछन् ।

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्कर ४२५ किलोमिटर छ । यस्तै सदरमुकाम खलङ्गादेखि तिङ्करको एक नम्बर पिलरसम्म १३५ किलोमिटर दुरीमा पर्छ । निर्माणाधीन रहेको दार्चुला–तिङ्कर सडकको हालसम्म ६० किलोमिटरसम्म मात्रै बोलपत्र आह्वान गरिएको छ । ब्यास–२ को दुम्लीङभन्दा माथि ठेक्का नै नलागेको दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाले बताए ।

हालको ब्यास गाउँपालिका–१ को छागरु र तिङ्कर गाउँसम्म मात्रै सडकको पहुँच पु¥याउने हो भने चीनसँगको व्यापारमा सीधा सम्पर्क हुने स्थानीयवासी बताउँछन् । दुई दशक अघिसम्म निरन्तर चीनसँगको हुँदै आएको व्यापार पुनः शुरु गर्नको लागि दार्चुला–तिङ्कर सडक निर्माण कार्यलाई अहिले प्राथमिकता दिनुपर्ने स्थानीयवासी जीतसिंह बोहरा बताउँछन् ।

दार्चुला–तिङ्कर सडक निर्माणमा ढिलाइले ब्यासमा फल्ने स्याउ भारतमा बिक्री हुन्छ । बोहराले भने, ‘नेपालतिर सडक निर्माण होला भनेरै १० वर्ष अघिबाट स्याउ खेती शुरु गरे । अहिले हजारौं बोटमा स्याउ फल्छ, कोदो, जौ, फापर आलु फल्छ तर बाटोघाटो छैन् ।’

तिङकरबाट ताक्लाकोट चार–पाँच घण्टामा पुगिने भए पनि वैधानिक रुपमा मार्ग खुल्न सकेको छैन् । वर्षौदेखि चीनको ताक्लाकोट व्यापार गर्दै आएका बोहरा अहिले चीनका राष्ट्रपति आएको बेला यो नाका खुलाउने विषय चर्चामा ल्याउन आग्रह गर्छन् । दार्चुला–तिङ्कर सडकलाई चीनसँग जोड्न हुन सकेमा सुदूरपश्चिमको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्