आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम


३ मंसिर २०७६, मंगलवार
cdc nepal2019 11 19 06 25 38

काठमाडौं, ३ मंसिर । सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम शुरु गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए ।

अघिल्लो वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्ने भनिए पनि तयारी कम र निजी विद्यालय सञ्चालकहरूले गुनासो गरेका कारण लागू हुन सकेको थिएन । अघिल्लो वर्ष सात विषय पढाउनुपर्ने व्यवस्था भए पनि त्यसलाई परिवर्तन गरी ६ विषय पढाए पुग्ने व्यवस्था गरिएको थियो ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा केही परिवर्तन गरेर ०७७ देखि नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको हो । यसअघि सातवटा विषय पढाउनुपर्ने व्यवस्था गरेकामा नयाँ व्यवस्थाअनुसार केन्द्रले ६ विषय पढाउनै पर्ने र क्रेडिट आवर कम भएका विषय पढ्नेले थप एक विषय पढ्न सक्ने व्यवस्था गरेको छ ।

केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप परिवर्तन गरी नयाँ व्यवस्था गरेको हो । निर्देशक पौडेलले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट शुरु भएपछि कक्षा १ माथि माथिल्लो कक्षा र ११ बाट १२ तथा तल्ला कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दै जाने बताए । ०७८ मा कक्षा ६ बाट पनि नयाँ पाठ्यक्रम लागू गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । ‘०७७ मा कक्षा ६ को पाठ्यक्रम परीक्षण गर्नेछौँ,’ पौडेलले भने ।

यस वर्ष पाठ्यक्रम विकास केन्द्रले १८ जिल्लाका एक सय तीन विद्यालयमा कक्षा १ को पाठ्यक्रमको परीक्षण गरिरहेको छ । केन्द्रका कार्यकारी निर्देशक पौडेलका अनुसार कक्षा ११ मा विषयका केही च्याप्टर परीक्षण हुने बताए ।

कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षा भए पनि क्रेडिट आवर भने फरक छ । कक्षा ४ देखि १० सम्म एउटा विषयमा ३२ क्रेडिट आवर राखिएको छ । त्यसैगरी, कक्षा ११ र १२ मा भने क्रेडिट आवर विषयअनुसार फरक छ । कक्षा ११ मा विषयअनुसार २७ देखि ३२ क्रेडिट आवर कायम गरिएको छ ।

यस्तो छ कक्षा ११ र १२ को व्यवस्था
विद्यालय शिक्षामा साधारण, टेक्निकल र परम्परागत धार छुट्याइएको छ । कक्षा ११ र १२ मा संकायका रूपमा विषय नछुट्याए पनि उच्च शिक्षा कुन संकायमा लिने भन्ने आधारमा विषय छनोट गर्न सक्ने व्यवस्था छ । साधारण र टेक्निकल धारमा पनि ऐच्छिक विषय हुनेछन् ।

कक्षा ११ र १२ मा तीन–तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक विषय छनोट गर्न सकिनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली र सामाजिक विषयलाई अनिवार्य गरिएको छ । त्यसैगरी, कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ । तीन वटा ऐच्छिक विषय लिनुपर्ने र एउटा थप लिन सक्ने गरी व्यवस्था छ । कक्षा ११ र १२ मा एक सयभन्दा बढी विषय हुनेछन् ।

नयाँ र पुरानो संरचनामा फरक
अहिलेको र नयाँ पाठ्यक्रममा फोकस फरक हुन्छ । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा हो । त्यो पार गर्दासम्म केही सिके पनि आफ्नो जीवनयापन र रोजगारीका लागि केही न केही सीप पाउने व्यवस्था अबको पाठ्यक्रममा हुने निर्देशक पौडेलले बताए । नयाँ पाठ्यक्रममा प्राविधिक धार पनि छ । प्राविधिक धार भएपछि मध्यमस्तरको जनशक्ति उत्पादन हुने पौडेलले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७