बहिनीसँग आपत्तिजनक अवस्थामा भेटेपछि साथीको कुटीकुटी हत्या


२८ मंसिर २०७६, शनिबार
death 1

भरतपुर, २८ मंसिर । आफ्नै बहिनीसँग आपतिजन अवस्थामा भेटेपछि चितवनको भरतपुरमा एक युवाको आफ्नै साथीले हत्या गरेका छन् ।

भरतपुर महानगरपालिका–२७ घर भएका कालीराम महतो १०–१५ जना कामदारहरु राखेर गाउँमा ठेक्कामा घर बनाउने काम गर्थे ।  कालीरामले छोरा अविनाश महतोलाई पनि सँगै काममा राख्ने गरेका थिए । अविनाशसँग गाउँकै विनोद महतो, विजय महतो, दिपेन्द्र महतो र यमकुमार महतो पनि काम गर्थे । उनीहरु एक आपसमा निकै मिल्ने साथी थिए ।

उनीहरुले भरतपुर महानगरपालिका–२७ स्थित भंगाह चोकका सिखाराम महतोको घर ठेक्कामा लिएर बनाइरहेका थिए । तर, मंसिर १२ गते एक अर्कामा यति मिल्ने साथीहरुबीच अचानक ठूलो घटना भयो ।

घरधनी सिखारामले ढलानको काम सकिएको भन्दै ३ बजेतिर काम सकेर उनीहरुलाई कुखुरा काटेर भोज खुवाएका थिए । भोजमा सबैले खाए । अविनाश बेलुकी करिब ६ बजेतिर घर जान्छु भन्दै साथीहरुसँगै निस्के ।

नयाँ पटिहानी चोक पुगेपछि उनीहरुले फेरि रक्सी थप्न सुरु गरे । साथीहरु धन बहादुर महतो, सुकराम महतो र अविनाश गरी ४ जना नयाँ पटिहानी चोकको ग्रिन चिल्ली रेस्टुरेन्टमा बसेर २ वटा बियर र १ प्लेट सुकुटी खाए । खाइसकेर सुकराम र अविनाश पर्साढापस्थित घर जाने भन्दै हिंडे ।

अलि पर पुगेपछि सुकरामले अविनाशलाई देखेनन् । पछाडि आउँदै होला, हुस्सुले नदेखिएको होला भन्ठाने । त्यति चासो गरेनन् । सरासर आफ्नो घर गए र खाना खाएर सुते । तर अविनाश भने पुरानो पटियानीतिर लागिसकेका थिए । साँझ करिब ७ः४२ बजे पटियानी पुगेका अविनाशले लगातार ४ पटक यमकुमारको बहिनीलाई फोन गरे । अन्तिममा यमकुमारको बहिनीले फोन उठाइन् ।

उनले फोनमा म तिम्रै घर नजिकै छु जसरी नि भेट्न आउ’ भने । राति करिब ९ बजेतिर यमकुमारको बहिनी पिसाब फेर्ने बहानामा बाहिर निस्किइन् । अविनाशले उनलाई हातमा समातेर नजिकै पराल राखेको ठाउँमा लगे । लगत्तै शारीरिक सम्पर्क गर्न खोजे । खासखुस गरेको आवाज केटीको दाइ दीपेन्द्रको कानमा पर्‍यो ।

दीपेन्द्रले उनीहरुलाई देखे । दीपेन्द्र एक्कासी त्यहाँ पुगेर अविनाशलाई समातेर कुटपिट गर्न थाले । कुटपिट गरेको खबर गाउँभरी फैलियो । अनि यमकुमार, विनोद, विजय पनि पुगे र सबै मिलेर काठको चिर्पटलगायतले निर्घात कुटपिट गरे । कुटपिटकै क्रममा अविनाशको ज्यान गयो ।

घटना लुकाउन राति नै गाडियो शव

कुटपिटबाट अविनाशको मृत्यु भएपछि उनीहरुले घटना लुकाउन आफ्नै घरमा रहेको पर्दाले बाँसको लाठीमा अविनाशको शवलाई बेरेर घर भन्दा झण्डै १ किलोमिटर पर दक्षिणमा रहेकोे खोला किनारमा लगि राति नै खाल्डो खनेर पुरिदिए ।

खाल्डोमा शव गाडेर कसैले नदेखोस् भनेर उनीहरुले पुरेको माथिपट्टि हरियो बाँसको झिक्राले समेत छोपे । अविनाशका बुबा कालिरामले छोरा बेपत्ता भएको भन्दै भोलिपल्ट मंसिर १३ गते बिहान इलाका प्रहरी कार्यालय दिव्यनगरमा खोजतलासको निवेदन दिए ।

जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर दयाकृष्ण भट्टको नेतृत्वमा तत्काल अनुसन्धान तथा खोजतलासमा जुटेको प्रहरीले अविनाशले चढ्ने गरेको साइकल पुरानो पटिहानी नजिकै खेत छेउको कच्ची बाटोमा वेवारिसे अवस्थामा भेटायो ।

स्थानीय मानिस समेतसँग सोधपुछ गर्दा घटनाका बारेमा कुनै थप प्रमाण नभेटिएपछि मृतकका आफन्त, स्थानीय समेतको सहयोगमा प्रहरीले २ दिनसम्म उक्त साईकल फेला परेको स्थान आसपासको बस्ती, खेत, जंगल, खोला समेततिर खोजी जारी राख्यो । अन्ततः अविनाश बेपत्ता भएको २ दिनभित्रै प्रहरी घटनास्थलसम्म पुग्न सफल भयो ।

कर्तव्य गरी मारेर गाडिएको अवस्थामा अविनाशको शव फेला परेपछि प्रहरीको शंकाको सुई उनीसँगै काम गर्ने सुकराम, दिपेन्द्र, विजय, विनोद र यमकुमार महतोलगायतका अविनाशका साथीहरुतिर सोझियो । सोधपुछको क्रममा उनीहरुले घटनाबारे कुनै जानकारी नभएको भन्दै इन्कारी बयान दिए ।

तीमध्येका दीपेन्द्र र यमकुमारले अविनाश पल्लो गाउँको केटीहरुसँग लागेकाले त्यसैको कारण घटना भएको हुनसक्ने भन्दै २ दिनसम्म प्रहरी अनुसन्धान नै अर्कैतिर मोडिदिए ।
पछि मृतक र शङ्का लागेका व्यक्तिहरुको मोवाइलमार्फत प्रहरी घटनाको गहिराइसम्म पुग्न सफल भयो । प्रहरीको निरन्तरको सक्रियताका कारण निर्ममतापूर्वक हत्या गरी शव लुकाइएको रहस्यमय घटनामा शीघ्र अनुसन्धान गरी ४ दिनभित्रै घटनामा संलग्न सबै व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउन प्रहरी सफल भएको चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले बताएका छन् ।

यसैबीच अविनाश र यमकुमारकी बहिनीको करिब १० महिनाअघि नै घर बनाउने कामको सिलसिलामा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुबीच मोबाइलमा मात्र नभएर बेलाबेला म्यासेन्जरमा समेत कुराकानी हुने गरेको पाइएको छ ।

घटना भएको दिन आफूहरुलाई त्यस्तो अवस्थामा देखेपछि दाजुहरुले अविनाशलाई कुटपिट गर्ने क्रममा अविनाशको मृत्यु भएको यमकुमारीकी बहिनीले प्रहरी समक्ष बयान दिएकी छन् । उनकै बयानको आधारमा थप ४ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्ला अदालत चितवनबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७