कोरोना अस्पतालमा मृत्यु प्रकरण : चार दिनसम्म उठेन शव

‘हाँसीखुसी अस्पताल जानु भएका मेरा पतिलाई अस्पालले उपचारै नगरी मार्‍यो’


२० चैत्र २०७६, बिहीबार
korona butwal

बुटवल, २० चैत । बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन् । थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन् ।

रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताकोे छ । ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुपर्‍यो,’ रीताले भनिन् ।

दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए । ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने ।

कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी किन औषधि चलाइएन ? आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल गएका उहाँलाई अस्पालले उपचारै नगरेर मारेको हो । मलाई न्याय चाहियो ।

रीताका अनुसार बाबुरामले अस्पतालका डाक्टर नर्सले हेरविचार नगरेको, खाना र पानीको समेत राम्रो व्यवस्था नभएको गुनासो मोबाइल फोनबाट गरेका थिए । ‘मलाई राखिएको कोठाको ढोकाबाट भित्र कोही पस्दैनन् ।

ज्वरो नाप्ने थर्मोमिटर दिएका छन् । आफै नापेर टिपाउनुपर्छ’ खाना र औषधि पनि टाढैबाट हुत्याई दिन्छन् । तिमी चिन्ता नगर । उपचार त गर्नै पर्‍यो भन्नु हुन्थ्यो’, पतिसँगको फोनवार्ता उद्धृत गर्दै रीताले भनिन् ।

रीताका अनुसार बाबुरामले शनिबार साँझ साढे ८ बजेतिर उनलाई फोन गरी आफू छिट्टै निको भएर फकर्ने भन्दै चिन्ता नलिन र छोराहरुको ख्याल राख्न भनेका थिए । आइतबार बिहान आफूले फोन गर्दा पति आत्तिएपछि हतारहतार एम्बुलेन्समा अस्पताल गएको उनले बताइन् ।

रीताका अनुसार अस्पताल पुगेपछि बिहान साढे ११ बजेतिर डाक्टरले बाबुरामकोे अवस्था गम्भीर भएको बताएका थिए । उनी एक्लै अस्पताल परिसरमा छटपटाइन् तर कसैले सान्त्वना दिएनन् । सकेसम्म स्वास्थ्यकर्मी उनीबाट तर्केरै हिँडे । दिउँसो एक बजे एक डाक्टरले ‘सरी, तपाईंका श्रीमानलाई बचाउन सकिएन भन्नु भयो’, रीताले भनिन् ।

कोरोना उपचार अस्पतालमा बाबुरामको मृत्यु भएको खबर फैलिएपछि बुटवलमै रहेका आफन्त, छिमेकी र साथीसमेत त्यहाँ पुगेनन्। घरमा ६ र १० वर्षका दुई छोरालाई पनि पानी खान दिने कोही भएन। रीतालाई कसैले वास्ता नगरेको भन्दै आलोचना भएपछि लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिले साँझ घर जाने गाडी व्यवस्था गरिदियो ।

अर्को दिन सोमबार थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । ‘कोरोना नभएका मेरा पतिलाई किन अस्पतालमा थुनेर राखियो ? समयमै ल्याब परीक्षण गरी किन औषधि चलाइएन ?’ रीताको प्रश्न छ । तर अस्पतालका डाक्टर र व्यवस्थापन पक्ष हेरिरहेको प्रादेशिक अस्पताल विकास समिति नाजबाफ छ ।

अस्पतालका डाक्टर ल्याब रिपोर्टप्रति शतप्रतिशत विश्वास गर्न नसकिने भन्दै पन्छिन खोजका छन् । रीताका आफन्त र छिमेकीले बाबुरामको मृत्यु कोरोनाले हो वा हैन भन्नेबारे अस्पताल र डाक्टरले स्पष्ट जबाफ दिनुपर्ने माग गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराई उपचार गर्दागर्दै कसैको मृत्यु भइहाले त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । आफन्तले त उपचार नपाएरै बाबुरामको मृत्यु भएको भनेका छन् नि भन्ने प्रश्नमा उनले यो विषय आफ्नो नभएकाले डाक्टरसँगै जवाफ माग्न भने ।

कोरोना उपचार अस्पताल भनिए पनि आवश्यक स्वास्थ्य उपकरण, आइसियुलगायत सुविधा नभएको अस्पतालकै डा. विष्णु गौतमले बताए । चैत ६ गते दुबईबाट काठमाडाैं आएका बाबुराम ७ गते सैनामैना नगरपालिका–४ सिसौंडाँडास्थित डेरामा आएका थिए । डेरामा आएपछि ज्वरो आएका उनी स्थानीय स्वास्थ्य चौकीको सल्लाहमा १३ गते एक्लै रिक्सा चढेर कोरोना अस्पताल पुगेका थिए । उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

१६ गते बिहान उनलाई श्वासप्रश्वासको समस्याले च्याप्यो । डाक्टरले उनको घाँटीको स्वाब निकाले । त्यसको केही समयपछि दिउँसो १ बजे उनको मृत्यु भएको जानकारी अस्पालले गराएको थियो । स्वाब परीक्षण रिपोर्ट कोरोना पोजेटिभ नभएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७