सुदूरपश्चिममा २५ करोडको बोइलर कुखुरा नोक्सान


२५ चैत्र २०७६, मंगलवार
kukhura paln UgjVwjDyWj

कञ्चनपुर, २५ चैत । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् ।

यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

‘लकडाउनको पहिलो साता साना, मझौला र ठूला बोइलर पालक किसानले करिब दश लाख कुखुरा मासुका लागि तयार गरेका थिए’, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत हेमराज अवस्थीले भने, ‘कुखुराका लागि दाना, औषधिलगायत सबै प्रभावित हुँदा किसानले क्षति व्यहोर्नु पर्‍यो ।’ 

मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । ‘प्रदेशभरी कुखुराका लागि दैनिक २० टन दाना चाहिन्थ्यो’, वरिष्ठ पशु विकास अधिकृत अवस्थीले भने, ‘शुरुमा आहार नपाउँने भएपछि ५० हजार कुखुरा खाल्डोमा पुरेर नष्टसमेत गर्ने अवस्था आयो ।’ उनले लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरासमेत बढ्दै जाने बताए ।

त्यसैगरी सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । ‘लकडाउनले अण्डा उत्पादन समेत बन्द भयो’, अवस्थीले भने, ‘अहिले दैनिक २० लाख अण्डा नष्ट हुँदैछ ।’ सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो ।

‘अण्डाको बिक्री वितरणका लागि सहजीकरण पनि गर्‍यौ’, अवस्थीले भने, ‘अरू विविध कारणले स्थानीय उत्पादन बिक्री भएन ।’ सरकारले कुखुरा पालक किसानका लागि लकडाउनमा दाना ओसारपसारमा सहजीकरण गर्ने भने पनि किसानले सहज रुपमा दाना नपाएको समेत गुनासो गरेका छन् ।

‘यहाँ ८० प्रतिशत भारतबाट कच्चा पदार्थ आएर दाना उत्पादन हुन्थ्यो’, उनले भने, ‘भारतबाट नआउँदा यहाँ अन्य ठाउँबाट ल्याउनेले महङ्गो र नगदमा मात्रै दाना दिने भनेपछि थप समस्या किसानमा पर्‍यो ।’

उत्पादन गरिएको अण्डा दुई साताभित्र खराब भइसक्छ । सुदूरपश्चिम प्रदेशमा वार्षिक तीन हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । ‘यहाँ दैनिक १२० टन दाना उत्पादन हुन्थ्यो’, वरिष्ठ पशु विकास अधिकृत अवस्थीले भने, ‘५० टन जति दाना मुलुकको अन्यत्रबाट आउँथ्यो ।’ सुदूरपश्चिमका नौवटै जिल्लामा कुखुरा पालक किसान रहे पनि दाना उत्पादन भने कैलाली कञ्चनपुुरमा मात्रै हुने गरेको छ ।

सुदूरपश्चिममा प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । ‘ह्याचरीले दुई हप्तामा रु एक करोड नोक्सानी व्यहोरिसकेका छन्’, अवस्थीले भने, ‘धेरै ठाउँमा किसानले सस्तोमा बोइलर कुखुरा बिक्री गरिरहेका छन् ।’

दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक रु ८० लाख बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरमा दाना र चल्ला बिक्री गर्दै आएका व्यापारी अर्जुन नेपालले किसानको अवस्था निकै नाजुक रहेको बताए । ‘यतिसम्मको विपत्ति कहिल्यै भोग्नु परेन’, उनले भने, ‘बर्डफ्लुमा समेत यस्तो समस्या व्यहोर्नु परेन ।’

कञ्चनपुर कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष विक्रम नाथले कुखुरापालक किसान लकडाउनका कारण सबैभन्दा बढी मारमा रहेको बताए । ‘हामीले सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन ।’

अध्यक्ष नाथले भने, ‘दाना नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो ।’ केही दिनअघि यहाँको स्थानीय प्रशासनले राति ८ बजेपछि दाना ढुवानीमा खुकुलो गर्ने निर्णय गरेको थियो । ‘खुकुलो भए पनि सबै किसानले दाना ल्याउन सक्ने अवस्था रहेन’, उनले भने, ‘रातिको समय पसल बन्द हुँदा दाना ल्याउन समस्या भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७