झरी, म अनि उसको सम्झना {कविता}


३० चैत्र २०७६, आईतवार
bandana rai poem scaled

 

झरीले मलाई छोएकोमा ईर्ष्या गर्थ्यो उ
त्यसरी उसले छोएको थियो मलाई
पहिलो पटक
अनि सदाको लागि, छुँदै नछोई
भित्र अन्तर हृदयसम्म
गहिरो-गहिरो
त्यो ईर्ष्यामा त्यस्तो के थियो कुन्नि
म झरी जान तयार थिए
आफ्नै स्वाभिमानको पर्खालबाट
फुटी जान तयार थिए
पानीको फोकाहरू जस्तै
उसको अस्तित्व आफ्नो सम्झेर
बिलाई जानु रहर थियो
बेपर्बाह बगी जानुमा
कुनै दुःख मन थिएन
तर तैरिएर प्रेमको नदीबाट
किनारा लाग्यो ऊ
स्मृतिमा हिलाम्य छापहरू छोडेर

आज फेरि एक पटक झरी परेर
निथ्रुक्क भिजेको छु
केही भिजेको छैन भने
त्यो मेरो परेली हो
सपना देखेर नथाक्ने ,एक जोर आँखी झ्याल हो
आफूले आफैलाई प्रेम गर्नु पूर्व
आफूले आफैलाई सर्वस्व ठान्नु पूर्व
जीवन आफै प्रति समर्पित गर्नु पूर्व
कोही इन्द्रेणी लिएर उभिएको छ
मलाइ दिनु भनी

झरी पछिको त्यो आकाश /मेरो बाँकी जीवन
म भएसम्म पुर्‍याउनु भनी
कोही आइपुगेको छ मेरो सामुन्ने
सही ठेगानामा नि

झरी पर्नु, म भिज्नु- तिमीले छुनु
म डुब्नु -तिमि तैरिनु
म बग्नु -तिमि किनारा लग्नु
केही समयको लागि
नियोजित घटना क्रमहरू
मैले भाग्य नाम दिए
जीवनप्रतिको प्रेम पुनः दाबी गर्न
मैले इन्द्रेणी ओठमा लिए
र प्रेम नाम दिए
यसरी टुसायो झरीपछि
मैले टेक्ने गरेको धर्तीबाट
पहिलो प्रेम कविता।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७