अस्पतालको शैंया भरियो, डाक्टरको निगरानीमा हुनुपर्ने संक्रमित क्वारेन्टिनमै


१६ जेष्ठ २०७७, शुक्रबार
gajendra hospital

सप्तरी, १६ जेठ । सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शैंयाको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नु परेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ शैंया भरिएको छ । सङ्क्रमितको संख्या ३३ पुगिसकेकाले अन्य व्यवस्था नहुँदासम्म उनीहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उनले बताए । क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

मन्त्रालयले बिहीबार नयाँ सार्वजनिक गरेको सप्तरीको १४ जनामा बोदे बर्साइनका १२ जना तथा खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको परीक्षणअनुसार राजविराज–१० का नयाँ चारजना पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिष्ठानले जानकारी दिएको यहाँका चार, मन्त्रालयले पुष्टि गरेका बोदे बर्साइनका तीन, खडक नगरपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जनालाई गएराति यहाँस्थित आइसोलेशनमा ल्याइएको छ । यसअघि आइसोलेशनमा डाकनेश्वरीका तीन, बलान बिहुलका तीन, सुरुङ्गाका एक र बोदे बर्साइनका आठ गरी १५ जना रहेका छन् ।

आइसोलेशन वार्डका २४ शैंया नै भरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौजना क्वारेन्टिनमै रहेका छन् । आइसोलेनशमा राख्नका लागि अस्पतालमा शैंया खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा. दासले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७