कोरोना कहरकै बीच पाकिस्तानले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान
पाकिस्तान, १७ जेठ । कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले शुरु गरेको छ ।
पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो । पाकिस्तान सरकारले कोरोना भाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो ।
तर शुक्रबारदेखि यहाँका अन्य नियमित गतिविधिहरुमा पनि खुकुला पार्ने नीति लिएको छ । उक्त निर्णयसँगै अन्तर्राष्ट्रिय उडानहरुमा लगाएको प्रतिबन्ध पनि शुक्रबार रातिदेखि नै फुकुवा गरेको बताएको छ ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रबार रातिबाट उडान सुरु भएको हो । प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरुलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै शुरू गरिसकेको छ ।
पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तर्राष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि शुरू भएका समाचारमा जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो । यहाँबाट गरिने विदेशी उडानहरुका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।
हरेक विमानलाई उडान शुरु गर्नु पूर्व स्यानिटाइज गर्ने तथा विमानस्थलमा भिडभाड नगर्नेलगायतका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाउनु पर्ने नियम यहाँका उड्डयन अधिकारीहरुले बनाएका छन् । रासस–सिन्ह्वा